गत सात दिनदेखि उच्च अंकले सेयर बजार बढेकाले नाफा बुक गर्ने लगानीकर्ता हाबी हुँदा बिहीबारको बजारमा करेक्सन आएको छ।
यो सात दिनमा नेप्से परिसूचक १९३ अंकले बढेको छ। सही मौकामा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा बिहीबार नेप्से परिसूचक ३२.२७ अंकले घटेको छ।
यसदिन नेप्से १.५३ प्रतिशतले घटेर २१०९.१० बिन्दुमा बन्द भएको छ।
बिहीबारको बजारमा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रूपैयाँको सेयर कारोबार भएको छ।
बुधबार ७ अर्ब ९५ लाख ७५ हजार १७६ रूपैयाँको सेयर कारोबार भएको थियो। यो रकम अघिल्लो दिनको तुलनामा ७३ करोड रूपैयाँ कम हो।
यस दिन ३०४ वटा धितोपत्रको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ वटाको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरी लघुवित्त, बिपिडब्ल्यू लघुवित्त र चिरख्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो।
यसैगरी, सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७.४४ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको सेयर मूल्य ५७९ रूपैयाँ ८० पैसामा सीमित भएको छ।
यस्तै, उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ७.२६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७९२ रूपैयाँ कायम भएको छ।
बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५९० रूपैयाँमा ३० करोड ६८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.७५ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४६१ रूपैयाँमा २५ करोड ४७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.३६ प्रतिशतले बढेको छ।
यस्तै, विकास बैंक समूहको परिसूचक सर्वाधिक ३.२३ प्रतिशतले घटेको छ।