माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिराहा जिल्लाको कर्जनहास्थित जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सीपमूलक तालिम कार्यक्रमको आयोजना गरेको छ।
माध्यमिक तहका विद्यार्थीहरूमा व्यवसायिक र प्राविधिक ज्ञान एवम् सीपको विकास गर्ने उद्देश्यले बैंकले 'इन्जिनियर्स विदआउट बोडर्स' नामक संस्थासँगको सहकार्यमा व्यवसायिक सीपमूलक तालिम आयोजना गरेको हो।
बैंकले 'इन्जिनियर्स विदआउट बोडर्स' नामक संस्थासँग सहकार्य गरी एक सातासम्म स्कुल प्राङ्गणमा तालिम कार्यक्रम सञ्चालन गरी पुस ८ गते उक्त कार्यक्रम समापनको गरेको थियो।
उक्त समापन कार्यक्रममा बोल्दै नेपाल सरकार वन तथा वातावरण मन्त्री एवम् बैंकका पूर्व अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले विद्यालय स्तरदेखि नै विद्यार्थीमा व्यवसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीहरूले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने हुँदा यस्ता कार्यक्रमले विद्यार्थीको दक्षता वृद्धि गर्न सहयोग गर्ने बताए।
सोही कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि बैंकले शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानीय निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्ने बताए।
एक सातासम्म सञ्चालन भएको उक्त सीपमूलक तालिम कार्यक्रममा गोवर ग्यासबाट वायो ग्यास निकाल्ने, पानी फिल्टर गर्ने लगायतका प्राविधिक तालिम तथा उनबाट बनेका विभिन्न सजावटका सामानहरू बनाउने व्यवसायिक तालिम विद्यार्थीहरूलाई प्रदान गरिएको थियो।