हिमालयन रिइन्स्योरेन्सको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ।
उक्त आइपिओमा १५ लाख ७३ हजार २१९ जनाको आवेदन परेको थियो। जसमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन योग्य भएको छ भने ८ हजार ६५५ जनाको आवेदन रद्द भएको छ।
यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै सेयर पाएको बिक्री प्रबन्धकको भनाइ छ। ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ।
यसरी हेर्दा २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन्। अर्थात् २९ हजार २१ जनाले ४० कित्ता सेयर हात पार्न सफल भएका छन्।
कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म उक्त आइपिओ बिक्री खुला गरेको थियो।
कम्पनीले १० अर्ब रूपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रूपैयाँ बराबरको तीन करोड कित्ता सेयर जारी गर्ने अनुमति पाएको थियो।
कम्पनीले प्रतिसेयर अंकित १०० रूपैयाँमा १०६ रूपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रूपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रूपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ।
सो मध्ये २ प्रतिशत अर्थात् ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेको छ।
यस्तै, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर बाँडफाँट गरी बाँकी रहेको दुई करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।