राष्ट्र बैंकले प्राथमिकता साथ सुरू गरेको क्युआर भुक्तानीमा उल्लेख्य सहभागिता देखिएको छ।
अहिले क्युआर माध्यमबाट मात्रै वार्षिक सात करोड ८० लाख पटक कारोबार हुने गरेको छ भने वार्षिक दुई खर्ब ४५ अर्ब रूपैयाँको कारोबार भइरहेको छ।
'क्युआरमार्फत् भुक्तानी गरी तरकारी खरिद गर्ने सुरूवात राष्ट्र बैंकबाट गरिएको आज तीन वर्ष पूरा भएर चार वर्ष लागेछ,' राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन्, 'क्युआरबाटै पैसा तिरी पिइएको चियाको सम्झना त्यही गएर गर्ने जमर्को गरियो, क्युआरको इकोसिस्टम विकासमा संलग्न सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु।'
विसं २०७८ असारदेखि क्युआर कोडको प्रयोग सुरू भएपनि पुसमा नेपाल राष्ट्र बैंकले अग्रसरता लिएर यसको प्रयोगलाई प्राथमिकतामा राखेको थियो।
राष्ट्र बैंकको भुक्तानी नियम अनुसार क्युआर कोडबाट प्रतिदिन ३ लाखसम्म कारोबार गर्न सक्ने व्यवस्था गरिदिएको छ। क्युआर कोड लिने व्यवसायीको लागि स्थायी लेखा नम्बर (पान) अनिवार्य गरिएको छ।
तर, दैनिक ५ हजारसम्मको व्यापारिक कारोबार गर्ने प्राकृतिक व्यक्ति वा खुद्रा व्यापारीलाई आधिकारिक परिचयपत्रको आधारमा समेत पान नम्बर आवश्यक नहुने व्यवस्था गरिदिएको छ।
यस्तै, क्युआर कोडबाट भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशतले हुने रकम उपभोक्ताले तत्कालै फिर्ता पाउने व्यवस्था समेत गरेको छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा ५५ लाख ८१ हजार पटक कारोबार भएको थियो। सो वर्ष २० अर्ब २८ करोड रूपैयाँको कारोबार भएको छ।
आर्थिक वर्ष २०७८/७९ मा भने दुई करोड ६९ लाख पटक कारोबार भएको थियो। सो वर्ष ९४ अर्ब ५० करोड रूपैयाँको कारोबार भएको छ। आर्थिक वर्ष २०७९/८० मा भने सात करोड ८० लाख पटक कारोबार भएको थियो। सो वर्ष दुई अर्ब ४५ अर्ब रूपैयाँको कारोबार भएको छ।
चालु आर्थिक वर्षको चार महिनासम्ममा भने चार करोड ३६ लाखको कारोबार भएकोमा एक खर्ब २८ अर्ब रूपैयाँको कारोबार भइसकेको छ।