चीनको सेयर बजार पाँच वषकै न्यून विन्दुमा आएपछि मन्त्रिपरिषदले बजार नियामक चाइना सेक्युरिटिज रेगुलेटरी कमिसनका अध्यक्ष यी ह्वेम्यानलाई बर्खास्त गरेको छ।
कारण उल्लेख नगरिकनै यीलाई हटाएर वु क्विङलाई सो पदमा नियुक्ति दिइएको छ। वु क्विङले यसअघि सांघाइ स्टक एक्सचेञ्जको नेतृत्व गरिसकेका छन्।
मुलुकको सेयर बजारलाई स्थिरता दिन संघर्ष गरिरहेको चीनले यी ह्वेम्यानलाई हटाएर कडा नीति निर्माताको रूपमा चिनिएका 'भेटेरन' नियामक वु क्विङलाई ल्याइएको हो।
नियामक निकायको अध्यक्षमा फेरबदलको खबरसँगै एफटिएसइ चाइना ए ५० परिसूचक ०.२ प्रतिशतले बढेको छ। हङकङको हाङ सेङमा पनि बुधबार सामान्य परिर्वतन देखिएको छ।
बजारले यो फेरबदललाई सहज रूपमा लिन सकोस् भन्ने उद्देश्यले शुक्रबारबाट लुनार नयाँ वर्षको लामो बिदा सुरू हुनु अघि यी ह्वेम्यानको बर्खास्ती गरिएको हो।
चीनमा घरजग्गाको कारोबारमा आएको मन्दीले अर्थतन्त्रलाई नै प्रभाव पारिरहेको छ। चिनियाँ सेयर बजारको पुँजीकरण सन् २०२१ यता करिब ७० खर्ब डलरले घटेको छ। अमेरिका, भारतको बजार बढिरहेको समयमा चिनियाँ बजार भने करिब ३५ प्रतिशतले घटेको बताइन्छ।
वैदेशिक र घरेलु लगानीकर्ताको विश्वास गुमेसँगै यसले चीनको वृद्धिदरमै नकारात्मक प्रभाव पार्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
एक दशकअघिसम्म विश्वको उदयीमान अर्थतन्त्रको रूपमा चीन देखिँदै गर्दा त्यहाँ वैदेशिक लगानीकर्ताहरू निकै आकर्षित देखिएका थिए। चीन वार्षिक ६ प्रतिशतको वृद्धिमा देखिँदै आएको थियो। सन् २०१४ मा हङकङको बजार वैदेशिक लगानीकर्ताको लागि समेत खुला गरिएपछि वैदेशिक लगानीकर्ताहरूको भीड नै लागेको थियो।
चीनको राजनीति प्रति लगानीकर्ताहरूको बुझाइ जे रहे पनि त्यहाँका अधिकारीहरू अर्थतन्त्र उत्थानको लागि दत्तचित्त रहेको र उनीहरू प्रति भर गर्न सकिनेमा विश्वस्त थिए। तर, सन् २०२० मा टक्नोलोजी क्षेत्रमा गरिएको नियामकीय कारबाहीले पनि लगानीकर्ताहरूको आत्मविश्वासमा कमी आएको मानिएको छ।
अर्थतन्त्रलाई प्रभाव पार्ने गरी घरजग्गा क्षेत्रमा आएको मन्दी बारेको बुझाइमा सरकार सुरूमा दुविधामा नै देखिएपछि यसको प्रभाव झन् बढ्यो। घरजग्गा क्षेत्रको मूल्य आरोलो लाग्ने क्रममा सन् २००७ देखि २००९ मा देखिएको आर्थिक संकटपछि कै उच्च रह्यो।
यो क्षेत्रको सुधारमाभन्दा चीनले 'उच्च गुणस्तर' का क्षेत्रमा बढी ध्यान केन्द्रीत गर्यो। 'उच्च गुणस्तर'का क्षेत्रमा त्यस्ता क्षेत्र मानिएका थिए जसमा हुने वृद्धिले अमेरिकाको प्रविधि, अर्थतन्त्र र सैनिक क्षमताको तुलनामा बलियो हुने अनुमान गरिएको थियो। र, यसले घरजग्गा क्षेत्रमा आवश्यक सहुलियत सरकारबाट प्राप्त हुन सकेन।
अहिले चीनमा घरजग्गा क्षेत्रमा आएको मन्दी, युवा बेरोजगारको संख्यामा भइरहेको वृद्धि, जन्मदरमा आएको कमीको कारण अर्थतन्त्र मन्दी (अपस्फिती) मा गएको छ।