बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा धितोमा रहेको सम्पत्ति बिक्री नभए आफैले सकार्न पाउने भएका छन्।
‘कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पुरा गर्दा समेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैले सकार गर्नुपर्नेछ’, राष्ट्र बैंकले सोमबार जारी गरेको परिपत्र भनिएको छ।
सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण लिनु पर्ने रकममध्ये जुन कम हुन्छ सोही मूल्यमा मूल्याङ्कन गर्नु पर्ने व्यवस्था छ।
यदि धितोको बजार मूल्य कर्जा असुलीको क्रममा लिनु पर्ने रकमभन्दा कम भएमा कम भएजति रकम सोही आर्थिक वर्षमा नाफा/नोक्सान हिसावमा खर्च देखाउनु पर्ने व्यवस्था छ।
गत मंसिर १० गते बैंक तथा वित्तीय संस्थाले धितो लिलाम नभएर सकारेको हदबन्दीभन्दा बढी गैरबैंकिङ सम्पत्ति तीन वर्षभित्र अनिवार्य रूपमा बेच्नुपर्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले दायर गरेको रिटमाथिको सुनुवाइमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो।
त्यस्तै, बैंकले धितो लिलामी प्रक्रिया सुरू भएपछि कर्जाको किस्ता उठ्न थालेमा कर्जालाई खराब वर्गमा वर्गीकरण गरिरहनु नपर्ने भएको छ।