२०८२ साल असोज १८ गतेयता देशभर भएको अविरल वर्षा तथा बाढी–पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिसम्बन्धी हालसम्म निर्जीवन बीमा कम्पनीहरूमा ७९० वटा प्रारम्भिक बीमा दाबी परेको छ।
ती दाबीहरूको कुल प्रारम्भिक दाबी रकम करिब ४ अर्ब १८ करोड २६ लाख रूपैयाँ रहेको छ।
बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक विवरणअनुसार हालसम्म ९६ वटा दाबीको करिब ११ करोड १५ लाख रूपैयाँ बीमितहरूलाई भुक्तानी गरिएको छ।
१३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त तथ्यांक अनुसार सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीको करिब ३ अर्ब ५८ करोड ३२ लाख रूपैयाँ दाबी रकममध्ये ३३ वटा दाबीको करिब ९ करोड ६४ लाख रूपैयाँ भुक्तानी भएको छ।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा दाबीको करिब ५१ करोड ५७ लाख रूपैयाँ दाबी रकममध्ये ७ वटा दाबीको करिब ९ लाख रूपैयाँ भुक्तानी गरिएको छ।
यसैगरी कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिब ४ करोड १४ लाख रूपैयाँमध्ये ४२ वटा दाबीको करिब १९ लाख रूपैयाँ, मोटर बीमा (निजी तर्फ) ४० वटा दाबीको करिब २ करोड ८२ लाख रूपैयाँमध्ये १२ वटा दाबीको करिब १ करोड २० लाख रूपैयाँ भुक्तानी भएको छ।
सामुद्रिक बीमातर्फ ४ वटा दाबीको करिब ११ लाख रूपैयाँमध्ये २ वटा दाबीको करिब ३ लाख रूपैयाँ भुक्तानी गरिएको छ।
यस्तै मोटर बीमा (सार्वजनिक तर्फ)१० वटा दाबीको करिब १ करोड १९ लाख रूपैयाँ र लघु बीमातर्फ २ वटा दाबीको करिब १२ लाख रूपैयाँको भुक्तानी प्रक्रिया भने हालसम्म सुरु नभएको बीमा कम्पनीहरूले जनाएका छन्।