पछिल्लो समय हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिन थालेका छन्।
केही कम्पनीमा लगानीकर्तालाई उच्च नाफा समेत देखिन थालेको छ।
यस्तै एक कम्पनी हो, आँखुखोला जलविद्युत।
सोमबार कारोबार रकमको आधारमा आँखुखोला पहिलो स्थानमा थियो। यसको ४१ करोड ४९ लाख रूपैयाँको सेयर किनबेच भएको छ।
आँखुखोलामा गत पुस २८ गते लगानी गरेकालाई सोमबारसम्म ६३ प्रतिशत नाफा भइसकेको छ। पुस २८ गते यसको सेयर प्रतिकित्ता दुई सय रूपैयाँमा कारोबार भइरहेको थियो। सोमबार तीन सय २६ रूपैयाँमा कारोबार भएको छ।
२०७५ पुसदेखि आँखुखोलाको जलविद्युतको सेयर कारोबारमा आएको थियो। अहिलेसम्म यसले कमाएर लाभांश दिएको छैन। २०८१ सालमा एक पटक १५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो।
यसले चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन।
पहिलो त्रैमासमा आँखुखोलाले साढे तीन गुणा नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको थियो। नाफा ८३ लाखबाट बढेर दुई करोड ८९ लाख रूपैयाँ पुगेको छ।
यसको विद्युत बिक्रीबाट हुने आम्दानी पाँच करोड ३६ लाखबाट बढेर सात करोड ३० लाख रूपैयाँ पुगेको छ। तर सञ्चित नोक्सान अझै १६ करोड रूपैयाँ छ। अघिल्लो पटक २५ करोड नोक्सान थियो।
वार्षिकीकरण गरिएको प्रति सेयर आम्दानी ५.७९ रूपैयाँ छ। प्रतिसेयर नेटवर्थ जम्मा ९२ रूपैयाँ छ।
विद्युत बिक्री दर २० प्रतिशतले वृद्धि हुनेपर्ने भए पनि सो अनुसार नगरिएको भन्दै आँखुखोलाले ऊर्जा मन्त्रालय विरूद्ध मुद्दा दायर गरेको थियो। सो मुद्दा जितेसँगै यसले २०७८ असारसम्म करिब ११ करोड रूपैयाँ पाएको थियो। अब पाँच करोड ५५ लाख रूपैयाँ पाउन बाँकी छ।
त्यस्तै, सरकारबाट प्रति मेगावाट ५० लाख रूपैयाँको दरमा पाउनुपर्ने अनुदान रकमबाट चार करोड ६२ लाख रूपैयाँ पाउन बाँकी रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ।
आर्थिक वर्ष २०७१–७२ को बजेटमा सरकारले २०७९–८० सम्म विद्युत उत्पादन गर्ने आयोजनालाई एकमुष्ट यस्तो अनुदान दिने घोषणा गरेको थियो। दस वर्षदेखि विद्युत उत्पादकहरूले यस्तो अनुदान पाएका छैनन्।
धादिङमा रहेको आँखुखोला आयोजनाको क्षमता हाल ८.४ प्रति मेगावाट छ।
२०७८ भदौमा आँखुखोलाको सेयर मूल्य ५०२ रूपैयाँसम्म पुगेको थियो। अहिले २०७८ कात्तिकको आसपास आएको छ। सो समय मूल्य ३६४ रूपैयाँ थियो। यहीँ यसले प्रतिरोध सामना गर्ने देखिन्छ।
लगातार मूल्य बढेर हरियो मैनबत्ती बनाएको आँखुखोलाको सेयरमा सोमबार सुटिङ स्टार डोजी बनेको छ। यसले सेयर मूल्यको वृद्धि रोक लाग्ने संकेत गर्छ। यो दरिलो संकेत होइन। त्यसैले लगानीकर्ताले मंगलबारको कारोबार हेरेर आफ्नो रणनीति बनाउनु सही हुन्छ।
सोमबार धेरै कारोबार हुनेमा पिपुल्स पावर कम्पनी पाँचौं स्थानमा छ।
यसको २४ करोड रूपैयाँको सेयर कारोबार भएको छ। यसको प्रति कित्ता सेयर ३९९ रूपैयाँमा कारोबार भइरहेको छ।
२०७९ असोजमा सूचीकरण भएको यो कम्पनीको सेयर मूल्यले केही समयमै ६८३ रूपैयाँको उचाइ बनाएको थियो।
पिपुल्स पावरले हालसम्म लाभांश दिएको छैन।
यसले इलाममा ४.९६ मेगावाटको पुवाखोला २ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।
संस्थापक र स्थानीयका लागि रहेको तीन वर्षको लकिङ पिरियड खुल्ने समयमा यसले ५० प्रतिशत हकप्रद जारी गरेको देखिन्छ। २०८२ असारमा यसले हकप्रद जारी गरेको थियो। सो समय पनि मूल्य ६०० रूपैयाँ आसपास पुगेको थियो।
यसले दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छैन।
पहिलो त्रैमासको वित्तीय विवरण अनुसार नाफा २६ प्रतिशत घटेर एक करोड ७२ लाख रूपैयाँ भएको छ। असोजको बाढीले पिपुल्सको आयोजनामा क्षति पुगेको भए पनि अहिले सञ्चालनमा आएको छ।
दोस्रो त्रैमासमा विद्युत बिक्रीबाट आम्दानी तीन करोड १७ लाख रूपैयाँ पुगेको छ। यसअघि तीन करोड एक लाख रूपैयाँ थियो। यसको सञ्चित नोक्सान ६५ लाख रूपैयाँ छ।
वार्षिकीकरण गरिएको प्रति सेयर आम्दानी ५.३२ पैसा छ। प्रति सेयर नेटवर्थ १०६ रूपैयाँ छ।
पछिल्लो समय पिपुल्सको सेयर २६० देखि ४०० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार मूल्य २४ रूपैयाँ बढेर ३९९ पुगेको हो। हाल यसको मूल्य गत असारकै उच्च विन्दुमा आएको छ। पुस २८ गते यसको सेयर किनेकालाई अहिलेसम्म २३ प्रतिशत नाफा भइसकेको छ।
सोमबार लामो हरियो मैनबत्ती आकृति बनेको छ। त्यसअघिको तीन दिनको कारोबारमा 'टू क्रोज बियरिस' आकृति बनेको थियो।
पहिलो दिन हरियो लामो, दोस्रो दिन केही माथिबाट कारोबार सुरू भएर सानो शरीर र दुवैतर्फ धागो भएको दोजी बनेको थियो। तेस्रो दिन मूल्य घटेर रातो लामो मैनवत्ती बनेको थियो।
तेस्रो दिनको मैनबत्तीले पहिलो र दोस्रो दिनको मैनबत्तीबीच रहेको दुरी (ग्याप) ढाकेको थियो। यसले मूल्य घट्न सक्ने संकेत गरेको थियो।
यो दरिलो संकेत भने मानिदैन।
सोमबार मूल्य बढेर लामो हरियो मैनबत्ती आकृती बनेको छ। नयाँ उचाई पनि समातेको छ। त्यसैले मूल्यलाई लिएर लगानीकर्ता सकारात्मक नै देखिन्छन्। तर, मंगलबारको कारोबार हेरेर मात्र निर्णय लिनु सही हुन्छ।