निर्वाचनपछिको पहिलो कारोबार दिन सोमबार १६२ अंकले बढेको नेप्से त्यसपछि दुई दिन लगातार घट्यो।
मंगलबार र बुधबार दुई दिनमा मात्रै नेप्सेले ४८.१४ अंक गुमायो।
योसँगै सोमबार २८७५ पुगेको नप्से अहिले २७९६ विन्दुमा आइपुगेको छ।
सोमबार खासै किनबेच नै गर्न नपाए पनि कम्पनीहरूको मूल्य उच्च बढेपछि लामो समयदेखि सेयर होल्ड गरेर बसेकाहरूलाई मंगलबार सेयर बेच्ने अवसर बन्यो।
निर्वाचनबाट बहुमत सहित सरकार बनाउने गरी एउटै दल चुनिएपछि बजारमा उत्साह देखिएको थियो। तर त्यो उत्साह मंगलबारसम्म पनि कायम रहेन।
निर्वाचन परिणामहरू वा राजनीतिले बजारमा क्षणिक प्रभाव पार्ने भए पनि यस पटक अनुमानितभन्दा निकै छोटो समयमै यो उत्साह सेलायो।
यसका पछाडि मध्यपूर्वमा जारी तनाव मुख्य कारण भएको ब्रोकरहरू बताउँछन्। यो तनाव लामो समय नरहने अनुमानका बीच इरानले आफ्नो निर्णयमा मात्रै द्वन्द्व अन्त्य हुने बताएपछि अन्योल बढेको छ।
इरानले छिमेकी मुलुकहरूमा पेट्रोलियम पदार्थ वितरणमा कडाइ गरेको र ती देशमा खाना पकाउने ग्यास अभावका कारण होटल तथा रेस्टुरेन्टले सेवा अवधि घटाएको, ग्राहकलाई उपलब्ध गराइँदै आएका परिकार समेत कटौती गरिरहेको इकोनोमिक्स टाइम्सले लेखेको छ।
नेपालमा पनि पेट्रोल र ग्यास भारतबाट आयात हुन्छ। त्यसैले यहाँको जनजीवनमा पनि प्रभाव पर्नसक्ने आशंकामा लगानीकर्ताहरू आत्तिएका छन्।
त्यस्तै नेपालमा रेमिटेन्स भित्रिने मुख्य क्षेत्रमध्ये मध्यपूर्वी क्षेत्र पर्ने भएकाले पनि लगानीकर्ताहरू सेयर बजारप्रति 'पर्ख र हेर' कै रणनीति बनाइरहेका छन्।
तर यो अवधिमा पनि सस्ता कम्पनीको सेयरमा आकर्षण कम भएको छैन। लगानीकर्तालाई ती कम्पनीमा लाभ पनि भइरहेको देखिन्छ।
निर्वाचनअघिको कारोबार दिनमा सेयर किनेकाहरूलाई बुधबारसम्म पनि यी चार कम्पनीमा १० प्रतिशतभन्दा धेरैको नाफा भइरहेको छ।
यी कम्पनी हुन् — नेसनल हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रो, हिमाल दोलखा हाइड्रो र शिवश्री हाइड्रो।
यी बजारका सस्ता कम्पनीहरू पनि हुन्। फागुन १९ गते नेसनलको सेयर २२६ रूपैयाँमा कारोबार भएको थियो। बुधबार यसको २६३ रूपैयाँमा सेयर कारोबार भएको छ।
त्यस्तै, यो अवधिमा अप्पर तामाकोशी हाइड्रो १८९ रूपैयाँ रहेकामा बुधबार २१५ रूपैयाँ पुगेको छ। हिमाल दोलखाको २०१ रूपैयाँबाट २२४ रूपैयाँ र शिवश्री हाइड्रोको १९४ रूपैयाँबाट २१५ रूपैयाँ पुगेको छ।
बुधबार पनि नेसनल हाइड्रो र हिमाल दोलखाको सेयर मूल्य बढेको छ। नेसनल हाइड्रोको सेयर मूल्य बुधबार मात्रै ९.९६ प्रतिशतले बढेर २६३ रूपैयाँ पुगेको हो।
बुधबार शिवश्री हाइड्रोको मूल्य स्थिर छ भने अप्पर तामाकोशीको ५० पैसाले मूल्य घटेको छ।
अब बजार के हुन्छ?
बजारमा पछिल्ला दिनमा कारोबार रकम समेत घट्न थालेको छ।
मंगलबार एकै दिन २१ अर्ब ५० करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार घटेको छ। बुधबार १३ अर्ब १८ करोड रूपैयाँको सेयर कारोबार भएको छ।
लगानीकर्ताहरू पर्ख र हेरकै अवस्थामा रहेकाले कारोबार रकम बढ्न सकेको छैन। त्यसैले केही समय नेप्से सामान्य घटबढ भएर रहने देखिएको छ।
अहिले पनि नेप्सेको केही समयअघि बनाएको 'गोल्डेन क्रसओभर' कायमै छ। यसले बजार बियरिस प्रवृत्तिमै गइनसकेको देखाइरहेको छ।
सोमबार, मंगलबार र बुधबारको मैनबत्ती चित्रले स्पष्ट संकेत गरेको छैन। बुधबार बजार घटे पनि सोमबारको सुरू विन्दुभन्दा तल नेप्से ओर्लिसकेको देखिँदैन।
त्यस्तै, ५० दिने मुभिङ एभरेज रेखामा नेप्सेले टेवा पाउन सक्ने समेत देखिएको छ।