सोमबारबाट सेयर बजारमा नयाँ नियम कार्यान्वयनमा आएको छ। यस अनुसार कम्पनीहरूको सेयर मूल्य कारोबार अवधिमा १५ प्रतिशतसम्म बढ्न र १५ प्रतिशतसम्म घट्न सक्छन्।
यसअघि कम्पनीहरूको दैनिक सेयर मूल्य १० प्रतिशतको दरले घटबढ हुन सक्ने व्यवस्था थियो।
यो नयाँ नियम लागेको पहिलो दिन होटल फरेस्ट इन र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य १५ प्रतिशतसम्म वृद्धि भएका छन्।
कस्ता छन् त यी कम्पनी?
होटल फरेस्ट इनको सेयर मूल्य सोमबार १५ प्रतिशतले बढेर प्रतिकित्ता १२६१ रूपैयाँ पुगेको हो।
फागुनबाट कारोबारमा आएको फरेस्ट इनको सेयर मूल्य लगातार बढ्दो छ।
पछिल्लो समय आइपिओ जारी गरेका कम्पनीहरूको मूल्य लगातार बढ्ने प्रवृत्ति देखिँदै आएको छ। फरेस्ट इनमा पनि त्यस्तै प्रवृत्ति देखिएको हो।
फरेस्ट इनको सेयर १०१ रूपैयाँबाट पहिलो कारोबार भएको थियो। पहिलो दिनदेखि नै दैनिक १० प्रतिशतको दरले मूल्य बढिरहेकामा नयाँ व्यवस्थापछि यसको मूल्य १५ प्रतिशतसम्म बढेको हो।
पूर्वऊर्जा मन्त्री दिपक खड्काको समेत सेयर स्वामित्व रहेको यस होटलका मुख्य लगानीकर्तामा विनिता थापा, त्रिशक्ति इक्विटी फन्ड, चार्टर्ड क्यापिटल एन्ड इन्भेस्टमेन्ट, लेखा श्रेष्ठ लगायत छन्।
१०४ कोठाको यो होटल बुढानिलकण्ठमा छ। हालै सेयर बजारमा सूचीकृत यस होटलको पछिल्लो वित्तीय विवरण उपलब्ध छैन।
तर होटलले सेयर जारी गर्ने क्रममा प्रकाशन गरेको आह्वान पत्र अनुसार आर्थिक वर्ष २०८१–८२ मा यो १७ करोड १९ लाख रूपैयाँ नोक्सानमा छ। यसको सञ्चित नोक्सान पनि २३ करोड रूपैयाँ छ।
यसको अर्थ यो होटलले यति बराबर नाफा कमाएर यस्तो नोक्सान घटाएपछि मात्रै लाभांश दिन सम्भव हुन्छ।
आह्वान पत्रमा होटलले चालु आर्थिक वर्ष २०८२–८३ बाटै नाफामा जाने प्रक्षेपण गरे पनि आर्थिक वर्ष २०८४–-८५ सम्ममा सञ्चित नोक्सान बाँकी नै रहने प्रक्षेपण गरेको छ। यो अवधिमा सञ्चित नोक्सान २३ करोड रूपैयाँबाट घटेर तीन करोड ३१ लाख रूपैयाँ सीमित हुने प्रक्षेपण गरेको हो।
होटलले आइपिओबाट उठेको ४० करोड रूपैयाँ बैंकको ऋण तिर्न प्रयोग हुने उल्लेख गरेको थियो। होटलले बैंकहरूबाट लिएको ऋण करिब दुई अर्ब रूपैयाँ छ।
होटलको सेयर मूल्य उच्च बढ्नुमा बजारमा सेयर आपूर्ति कम हुनु हो। दुई करोड कित्ता सेयर रहेको यस होटलको ४० लाख कित्ता सर्वसाधारणमा छ। अहिले यही सेयर मात्रै किनबेचमा आउने भएकाले सेयर आपूर्ति कम छ।
त्यस्तै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य सोमबार १५ प्रतिशतले बढेर प्रतिकित्ता १३६४ रूपैयाँ पुगेको छ।
चैत मध्यबाट कारोबारमा आएको सूर्यकुण्डको सेयर मूल्य लगातार बढ्दो क्रममा छ। यसको पहिलो सेयर कारोबार प्रतिकित्ता २८४ रूपैयाँबाट भएको थियो।
सूर्यकुण्डका प्रमुख सेयर प्रवर्द्धकहरूमा अपी पावर, देवबहादुर जुहार्चन, इडवा गोर्खा इन्भेस्टमेन्ट कम्पनी लगायत छन्।
११ मेगावाट विद्युत उत्पादन क्षमताको सूर्यकुण्डले २०८२ साउनबाट पूर्ण क्षमतामा विद्युत उत्पादन गर्दै आएको छ। यसको प्रतिमेगावाट लागत २१ करोड रूपैयाँ छ।
पछिल्ला वर्षहरूमा धेरैजसो हाइड्रोको प्रतिमेगावाट यस्तो लागत सरदर २० करोडकै हाराहारीमा छ। आयोजनाले लगानी बराबरको आम्दानी फिर्ता गर्न सक्ने अवधि सात वर्ष छ।
यो हाइड्रोको वार्षिक वृद्धिदर (इन्टरनल रेट अफ रिर्टन) करिब ११ प्रतिशत छ। यो दर राम्रो नै मान्न सकिन्छ।
नुवाकोटमा आयोजना रहेको यो हाइड्रोले आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा ९ लाख २१ हजार रूपैयाँ नोक्सानमा रहेको यो हाइड्रो चालु आवको यही अवधिमा २१ लाख रूपैयाँ नाफामा छ।
हाइड्रोको सञ्चित नोक्सान दुई करोड ८० लाख रूपैयाँ छ। अघिल्लो पटक विद्युत उत्पादन नै सुरू नभएकाले पनि हाइड्रोको आम्दानीको स्रोत बनेको थिएन।
अहिले यसको आम्दानीको स्रोत बनेको छ।
यस पटक यस हाइड्रोले विद्युत बिक्रीबाट १३ करोड रूपैयाँ आम्दानी गरेको छ।
भर्खरै आम्दानीको स्रोत बन्न थालेको यो हाइड्रोको प्रतिसेयर आम्दानी ७८ पैसा छ भने प्रतिसेयर नेटवर्थ ९४ रूपैयाँ ९१ पैसा छ।
कुल ६८ लाख ९६ हजार सेयर रहेको यस हाइड्रोको १३ लाख कित्ता सेयर मात्रै सर्वसाधारणमा छ।
लक इन पिरियडको कारण तीन वर्षसम्म सञ्चालक र स्थानीय बासिन्दाले सेयर बिक्री गर्न नपाउने भएकाले बजारमा यसको सेयर आपूर्ति कम छ। त्यसैले पनि मूल्य उच्चले वृद्धि भइरहेको छ।