नेपाल र भारतबीच एकअर्काको देशमा पैसा पठाउन र प्राप्त (डाइरेक्ट ट्रान्सफर) गर्न सकिने सेवा सुरू भएको छ।
भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा यस्तो सेवाको सुरूआत गरेका हुन्।
भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस र नेपालको नेसनल पेमेन्ट इन्टरफेसको प्रणालीबीचको अन्तर आबद्धता मार्फत दुवै मुलुकबीच पैसा पठाउन सकिने भएको हो।
२०८० मा नेपाल र भारतबीच भएको क्रस बोर्डर पेमेन्ट सम्झौता अन्तर्गत नै यो सेवाको सुरूआत भएको हो।
अब भारतका बैंकबाट नेपाल र नेपालबाट भारतमा रकम पठाउन सकिने भएको हो। तर अहिलेलाई यस्तो सुविधा नेपालमा काम गरिरहेका वा अस्थायी बसोबास गरिरहेका भारतीयहरूले मात्र पाउने छन्।
यहाँबाट भारतीयहरूले भने प्रतिपटक १५ हजार भारूसम्म पठाउन सक्ने नेपाल क्यिरिङ हाउस (एनसिएचएल) का प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले बताए।
नेपालबाट प्रति महिना २ लाख भारूसम्म पठाउन पाइनेछ।
'भारतबाट भने रोजगारीमा रहेका नेपाली वा त्यहीँका बासिन्दाले प्रतिपटक दुई लाख भारूसम्म पठाउन सक्नेछन्,' प्रधानले भने।
दैनिक वा मासिक सीमा तोकिएको छैन।
बैंकको खाताबाट बैंकको खातामा रकम पठाउन सकिने भएको हो। हाल नेपालका करिब आधा दर्जन बैंकहरूमार्फत् यो सेवाको प्रयोग गर्न सकिने भएको छ।
यसअघिदेखि नै नेपाल भ्रमणमा आउने भारतीयहरूले यहाँ क्युआर मार्फत् भुक्तानी गर्न पाउने सुविधा पाइरहेका छन्।
तर नेपालबाट भारत जानेहरूले क्युआर मार्फत् त्यहाँ भुक्तानी गर्न पाइरहेका छैनन्।