नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययन गर्न जाने तथा अध्ययनरत विद्यार्थीका लागि विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्था सहज बनाएको छ।
यससम्बन्धी नयाँ व्यवस्था गर्दै राष्ट्र बैंकले परिपत्र जारी गरेको हो।
नयाँ व्यवस्थाअनुसार भिसा प्राप्ति, भिसा नवीकरण वा निर्वाह खर्चका लागि सम्बन्धित देशको दूतावास वा सरकारी निकायले विद्यार्थीको खाता वा नाममा निश्चित रकम देखाउनुपर्ने प्रावधान रहेको पुष्टि भएमा आवश्यक विदेशी मुद्रा सटही गर्न सकिनेछ।
यदि आवश्यक रकम स्थानीय मुद्रामा निर्धारण गरिएको छ र विनिमय दरको उतारचढावका कारण वास्तविक खर्च यकिन गर्न कठिन भएमा बैंकले पठाउनुपर्ने रकममा बढीमा ५ प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रा पठाउन सक्नेछन्।
राष्ट्र बैंकले डिजिटल कागजातलाई पनि मान्यता दिएको छ।
एकीकृत परिपत्र–२०८२ अनुसार सक्कल कागजात पेश गर्नुपर्ने व्यवस्था रहेपनि अब विद्युतीय कारोबार ऐन, २०६३ अनुसार डिजिटल हस्ताक्षरबाट प्रमाणित कागजात पनि स्वीकार गर्नुपर्नेछ।
राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै यो व्यवस्था लागु गरेको हो।