वाणिज्य बैंकहरूमध्ये तीन वटामा सरकारको समेत लगानी छ। यसमध्ये दुइटाको सेयर बजारमा कारोबार हुने गरेको छ।
सेयर बजारमा रहेका यी दुई बैंक हुन्, कृषि विकास र नेपाल।
आज हामी यी दुई बैंकको कस्तो छ अवस्था भनेर हेर्नेछौं।
कृषि विकास बैंक
यो बैंकमा सरकार र सरकारी निकायको ५१ प्रतिशत सेयर लगानी छ। यसबोहक यसमा ०.५ प्रतिशतभन्दा धेरै सेयर लगानी हुनेमा कृष्ण गोपाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र रिलायबल लाइफ इन्स्योरेन्स छन्।
कृष्ण गोपालको १.४० प्रतिशत, लक्ष्मीको ०.९९ प्रतिशत र रिलायबलको ०.५५ प्रतिशत सेयर लगानी छ।
यसले विगत पाँच वर्षमा औसत १४.६७ प्रतिशत लाभांश दिएको छ। केही वर्षअघि (२०७८ साउनमा) यसको सेयर मूल्य ६०४ रूपैयाँसम्म पुगेको थियो।
पछिल्लो समयदेखि कृषि विकास बैंकको मूल्य ३०० देखि ४०० रूपैयाँबीच रहेर कारोबार भइरहेको छ।
गत चैतसम्म नाफा अघिल्लो पटकको भन्दा २४ प्रतिशतले घटेर एक अर्ब ३९ करोड रूपैयाँ भएको छ। यसअघि यस्तो नाफा एक अर्ब ८४ करोड रूपैयाँ थियो।
खुद ब्याज आम्दानी र राखिएको प्रावधान रकम बढे पनि नाफामा सुधार भएको हो। यसअघि ९१ करोड प्रावधान राखिएकोमा गत चैतसम्ममा यस्तो रकम बढेर एक अर्ब ९६ करोड रूपैयाँ पुगेको छ।
कृषि विकासको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ५.०६ प्रतिशत पुगेको छ।
यसको प्रतिसेयर आम्दानी १५ रूपैयाँ ४० पैसाबाट घटेर १० रूपैयाँ ७१ पैसा भएको छ। चैतसम्म यसको वार्षिकीकरण गरिएको लाभांश क्षमता दर ७.७८ प्रतिशत छ।
कृषि विकास बैंकको सेयरमा एकुमुलेसन (खरिददारी) नै देखिन्छ। विगत २० दिनमा डिस्ट्रिब्युसन र एकुमुलेसन सूचकको मान १ लाख ४५ हजारले सकारात्मक छ। पछिल्ला तीन दिनको मान पनि लगातार सकारात्मक नै छ।
५० दिने मुभिङ एभरेज रेखा अहिले पनि २०० सय दिने रेखा माथि नै रहेर बुलिस प्रवृत्ति कायमै रहेको संकेत गरिरहेको छ।
विगत तीन दिनमा लगातार हरियो मैनबत्ती आकृति बने पनि सबैको अन्तिम विन्दु ३०० रूपैयाँ आसपास छ। मूल्य थप बढ्न हरेक दिन नयाँ उचाइ बनाउनुपर्नेमा त्यस्तो हुन सकेको छैन। यसले ३०० आसपासमा प्रतिरोध परिक्षण गरिरहेको देखिन्छ।
नेपाल बैंक
यस बैंकमा सरकार र सरकारी निकायको ५१ प्रतिशत सेयर लगानी छ। यसबाहेक ०.५ प्रतिशतभन्दा धेरै सेयर लगानी हुने अन्यमा कर्मचारी सञ्चय कोष, प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नरेन्द्र कुमार गुप्ता छन्।
सञ्चय कोष बाहेक अन्यको सेयर लगानी एक प्रतिशतभन्दा कम छ। कोषको ३.६४ प्रतिशत लगानी छ।
यसले आर्थिक वर्ष २०७९/८० देखि लगानीकर्तालाई कुनै प्रतिफल दिएको छैन। चैतसम्म यसको वार्षिकीकरण गरिएको लाभांश क्षमता दर २.९२ प्रतिशत छ।
केही वर्षअघि (२०७८ साउनमा) यसको सेयर मूल्य ५७५ रूपैयाँसम्म पुगेको थियो।
पछिल्लो समयदेखि नेपाल बैंकको सेयर २५० देखि ३०० रूपैयाँको अन्तरमा रहेर कारोबार भइरहेको छ।
गत चैतसम्म नाफा अघिल्लो पटकको भन्दा ०.३५ प्रतिशतले बढेर दुई अर्ब ७९ करोड रूपैयाँ पुगेको छ। यसअघि यस्तो नाफा दुई अर्ब ७८ करोड रूपैयाँ थियो।
खुद ब्याज आम्दानी २.९५ प्रतिशतले बढे पनि राखिएको प्रावधान रकम फिर्ता ल्याएपछि नाफामा झिनै भए पनि सुधार हुन सकेको हो। यसअघि २८ करोड प्रावधान राखिएकामा गत चैतसम्म ३९ करोड फिर्ता ल्याएको (राइट ब्याक गरेको) छ।
नेपाल बैंकको खराब कर्जा ५.४५ प्रतिशतबाट घटेर ४.९६ प्रतिशत भएको छ।
यसको प्रतिसेयर आम्दानी २५ रूपैयाँ २६ पैसाबाट बढेर २५ रूपैयाँ ३४ पैसा पुगेको छ।
नेपाल बैंकको सेयरमा एकुमुलेशन (खरिददारी) नै देखिन्छ। विगत २० दिनमा डिस्ट्रिब्युसन र एकुमुलेसन सूचकको मान ८९ हजारले सकारात्मक छ। चार दिन लगातार सकारात्मक रहेको यस्तो मान गत शुक्रबार भने पाँच हजारले ऋणात्मक छ।
५० दिने मुभिङ एभरेज रेखा अहिले पनि २०० सय दिने रेखा माथि नै रहेर बुलिस प्रवृत्ति कायमै रहेको संकेत गरिरहेको छ।
विगत तीन दिनमा दुई दिन लगातार हरियो मैनबत्ती आकृति बने पनि अन्तिम दिन दोजी आकृति बनेको छ। यसले मूल्यलाई लिएर लगानीकर्तामा अन्योल रहेको संकेत गर्छ।