नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री सुरू गरेको छ।
राष्ट्र बैंकले आज (बिहीबार)देखि दुई दिनका लागि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री थालेको हो।
राष्ट्र बैंकका अनुसार २.५ ग्रामको एउटा सुनको असर्फीको मूल्य ६५ हजार ४ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै, १० ग्रामको चाँदीको मेडालियनको मूल्य ३ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।
राष्ट्र बैंकको टक्सार महाशाखाले कात्तिक १९ र २० गते असर्फी तथा मेडालियन बिक्री गर्ने सूचना जारी गरेको थियो।
महाशाखाका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी किन्न पाइनेछ।
त्यस्तै, लक्ष्मी र गणेश अंकित १० ग्रामका चाँदीका मेडालियन पनि खरिद गर्न सकिनेछ।
एक व्यक्तिले बढीमा दुई थान चाँदीका मेडालियन मात्र किन्न पाउने व्यवस्था छ।
बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री हुनेछ।
मौज्दात रहेसम्म लाइनमा आउने सेवाग्राहीलाई असर्फी र मेडालियन उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ।
खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ।
खरिदकर्ताले नगद वा क्युआरमार्फत भुक्तानी गर्न सक्नेछन्।
असर्फी र मेडालियनको मूल्य दैनिक निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।
बिहान करिब ११ बजे मूल्य तय भएपछि मात्र बिक्री सुरू हुने व्यवस्था गरिएको छ।