नेप्से परिसूचक अहिले स्पष्ट दिशा तय गर्न संघर्ष गरिरहेको छ।
परिसूचकमा अहिले बजार बढ्न सक्छ भन्ने र घट्न सक्छ भन्ने दुवै पक्ष उत्तिकै हाबी छ। यही कारण बजार न त धेरै माथि जान सकेको छ, न तल झर्न।
यही क्रममा बजार सूचकले लगालग दुई वटा संकेत देखाएको छ।
यी दुई संकेत हुन्, अंग्रेजी अक्षर 'एम' र 'डब्लू'।
केवल १२ कारोबार दिनभित्रै नेप्सेले पहिले एम र त्यसपछि डब्लू आकृति बनाएको छ।
यी दुईले परस्पर विपरीत प्रवृत्ति संकेत गर्ने विश्लेषण गरिन्छ।
एमलाई डबल टप पनि भनिन्छ। दुई पटक लगभग समान उचाइमा पुगेर तल फर्किएपछि यस्तो आकृति बन्छ। यसले खरिदकर्ताको शक्ति कमजोर बन्दै गएको र बिक्रीकर्ताले बजारमा प्रभाव बढाउन थालेको संकेत गर्छ।
यसलाई बजार घट्ने संकेतको रूपमा हेरिन्छ।
त्यस्तै, डब्लूलाई डबल बटम पनि भनिन्छ। यसले बजार बढ्ने संकेत दिने विश्लेषण गरिन्छ। सामान्यतः यो आकृतिलाई बजार सुधारको प्रारम्भिक संकेतका रूपमा लिइन्छ।
संकेत अनुसार यो आकृति सफल भएको मान्न बजारले यसअघिको नजिकको उच्च विन्दु पार गर्दै माथि जानुपर्छ। अहिले डब्लू आकृति देखिए पनि यसले अझै बजारको प्रवृत्ति परिवर्तन भएको पुष्टि गर्न सकेको छैन।
बाटो छेक्दै मुभिङ एभरेज रेखा
अहिले नेप्सेलाई बढ्नबाट रोक्ने काम मुभिङ एभरेज रेखाले गरिरहेको छ। नेप्सेले बढ्ने प्रयासमा हालै दुई पटकसम्म यही रेखामा प्रतिरोध पाइरहेको देखिन्छ।
अहिले नेप्से ५० दिने मुभिङ एभरेज रेखा र २०० दिने मुभिङ एभरेज रेखाभन्दा तल छ।
केही समयदेखि ५० दिने मुभिङ एभरेज रेखाले २०० दिने रेखालाई काटेर ओर्लिन लागेको जस्तो देखिएको छ। यी दुई रेखा निकै नजिकिएका छन्। यस्तो भएमा यसलाई 'डेथ क्रसओभर' भएको मानिन्छ।
डेथ क्रसओभरले मध्यदेखि दीर्घकालसम्म बजार थप केही समय घट्ने संकेत गर्ने मानिन्छ।
नेप्सेमा क्रसओभरहरू चाँडो चाँडो हुने भएकाले डेथ क्रसओभर देखिइहाले पनि अहिल्यै बजार बियरिसमा गइसकेको भन्न हतार हुन सक्छ। पछिल्ला केही सातादेखि बिक्री दबाब बढिरहेको यसले स्पष्ट संकेत दिएको छ।
नेप्से २०० दिने मुभिङ एभरेजभन्दा माथि जान सकेमा डब्लू आकृतिको प्रभाव पुष्टि हुनेछ। स्थिर कारोबार सहित यस्तो प्रवृत्ति बनेमा बजार बुलिस प्रवृतिमा जान सुरू भएको संकेत हुन सक्छ।
तर त्यसो नभएसम्म प्राविधिक संकेतहरूले अहिले आक्रामक निर्णयभन्दा 'पर्ख र हेर' को रणनीति अपनाउनुपर्ने संकेत गरिरहेका छन्।
एम आकृतिले गरेको बजार घट्न सक्ने संकेत पूर्ण रूपमा निष्क्रिय भइसकेको छैन। त्यसपछि बनेको डब्लू आकृतिले पनि बजारमा बुलिसका लागि आवश्यक शक्ति देखाउन सकेको छैन। मुभिङ एभरेजले निरन्तर अवरोध गरिरहेकाले यो प्रतिरोध तोड्छ वा पुनः तल फर्किने अवस्था रहन्छ, यसैले बजारको आगामी दिशा निर्धारण गर्नेछ।
बजार बढ्ने आधार
– सूचीकृत कम्पनीहरूको गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन, नाफा बढिरहेको संकेत।
– कर्जाको ब्याज घट्दा जलविद्युत कम्पनीहरूको नाफामा उछाल।
– अहिले लगानी गर्दा छोटो अवधिमा लाभांश पाइने अवसर।
– लामो समयदेखि कर्जा र निक्षेपको न्यून ब्याजदर, बैंकिङ प्रणालीमा पर्याप्त तरलता।
– वाणिज्य बैंकहरूबाटै हकप्रद सेयर जारीको तयारी, एनआइसी एसिया अहिले प्रक्रियामा।
बजार घट्ने आधार
– उद्योगी व्यवसायीको निजी आवासमा चलेको खानतलासी।
– लघुवित्त संस्थाहरूमा बढेको निष्क्रिय कर्जा र लाभांश क्षमतामा परेको प्रभाव।
– १० वाणिज्य बैंकको बाह्य लेखा परीक्षणले अवस्था गम्भीर देखाएको अनुमान (पूर्वअर्थमन्त्री रामेश्वर खनालले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो बताएका थिए।)
– बैंकहरूको पुँजीकोषमा दबाब देखिन सक्ने आकलन, १० वाणिज्य बैंकमै कतिपय लाभांश दिन सक्ने भए पनि यस्तो दबाब।
– प्रधानमन्त्री र अर्थमन्त्रीबीचको संघर्ष, व्यवसायीहरूसँग समानान्तर भेटघाट।
– धेरै जलविद्युत कम्पनी अझै नोक्सानकै अवस्थामा हुनु, नाफामा देखिन थालेकाबाट अहिले नै लाभांश आउने सम्भावना कम।