कालिन्चोक दर्शन (केबलकार) लिमिटेडले सेयरधनीलाई ८.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको जानकारी बुधबार सार्वजनिक भयो।
केही दिनदेखि उच्चले गिरावट भइरहेको यसको सेयर मूल्य बिहीबार थामिने प्रयासमा पनि देखियो। बिहीबार कारोबार अवधिमा मूल्य प्रतिकित्ता ६५६ रूपैयाँसम्म पुगेको थियो।
बजार बन्द हुँदासम्म भने यो प्रयास सफल भएन। बुधबारको तुलनामा बिहीबार कालिन्चोकको मूल्य करिब तीन रूपैयाँ घटेर ६२० रूपैयाँमा कारोबार भयो।
लगातार तीन दिनमा यसको मूल्य करिब १७ प्रतिशत घटेको छ। ७४० रूपैयाँमा कारोबार भइरहेको यसको सेयर तीन कारोबार दिनमा यतिले घटेको हो।
किन त?
यसभन्दा पहिले चर्चा गरौं, यो कम्पनी कस्तो हो।
२०७९ चैतबाट कालिन्चोकको सेयर कारोबारमा आएको हो। सेयर मूल्य एक वर्ष नपुग्दै १३८० रूपैयाँसम्म पुग्यो। यही नै यसको हालसम्मको उच्च मूल्य हो।
गत आर्थिक वर्ष २०८२–८३ मा यसको नाफा १६ प्रतिशत बढेर ५ करोड ७६ लाख रूपैयाँ पुगेको छ। त्यसअघि नाफा ४ करोड ९६ लाख रूपैयाँ थियो।
यसको व्यवसायबाट हुने आम्दानी ३४ प्रतिशत बढेको छ। यसअघि यस्तो आम्दानी ६ करोड ६५ लाख रूपैयाँ थियो। यस पटक ८ करोड ९६ लाख रूपैयाँ छ।
२०८२–८३ आसोजमा कालिन्चोक ३३ लाख रूपैयाँ नोक्सानमा देखिएको थियो। असोजमा गएको बाढीको कारण दोलखा, कालिन्चोकमा रहेको यो स्थानसम्म पुग्ने बाटाघाटा अवरूद्ध हुँदा व्यवसाय घटेको बताइएको छ।
त्यसयता भने नाफामा छ।
पछिल्लो समय बजारसँगै यसको मूल्य घट्दो क्रममा छ। तर, यसले लकिङ पिरियड खुल्नु ठिकअघि एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने घोषणा गर्यो। २०८२ पुसमा भएको साधारण सभाबाट यो प्रस्ताव पारित पनि गर्यो।
कम्पनीले यस्तो हकप्रद जारी गरेर उठ्ने पैसा ऋण तिर्न, कालिन्चोक, कुरी र भक्तपुरमा होटल सञ्चालन गर्ने उल्लेख गरेको छ। भक्तपुर, सूर्यविनायकमा जग्गा किनिसकिएको र होटलको नक्सा पास भइसकेको समेत साधारण सभाको माइनुटमा उल्लेख गरेको छ।
एक बराबर एक अनुपात हकप्रदको प्रस्तावले सेयर कारोबार बढे पनि यसको मूल्यले उचाइ कायम गर्न सकेन।
कारण थियो, केही समय लगत्तै कम्पनीको लकिङ पिरियड खुल्नु।
गत माघ १७ गते यसको लकिङ पिरियड खुलेको थियो। लकिङ पिरियड खुलेपछि संस्थापक र प्रस्तावित क्षेत्रका बासिन्दाले समेत सेयर बिक्री गर्न सक्छन्। तर यसअघि सर्वसाधारण सेयर र सञ्चालकहरूको सेयरलाई दिइँदै आएको अलग्गै पहिचान आधार (आइजिन) नहटाएपछि सञ्चालकहरूले सेयर बिक्री गर्न पाएका थिएनन्।
धितोपत्र बोर्डले दोहोरो आइजिन हटाउने निर्णय गरेसँगै अब सञ्चालकहरूले समेत सेयर बिक्री गर्न सक्ने भएकाले बोनस सेयर प्रस्तावले पनि यसको मूल्यमा सुधार हुन सकिरहेको छैन।
कालिन्चोकले २०८१–८२ मा पहिलो पटक ५ प्रतिशत लाभांश दिएको थियो। यसले धितोपत्र बोर्डमा हकप्रद प्रस्ताव स्वीकृतिका लागि गत चैतमा आवेदन दिएको थियो। प्रक्रिया भने अगाडि बढेको छैन।
इमर्जिङ नेपाल
कालिन्चोकको जस्तै दोहोरो आइजिन हटेकाले सेयर आपूर्ति बढ्ने अनुमानमा केही दिनदेखि इमर्जिङ नेपालको पनि सेयर मूल्य उच्च घटेको छ।
८२२ रूपैयाँ प्रतिकित्ता कारोबार भइरहेको इमर्जिङ नेपालको सेयर चार दिनको कारोबारमै घटेर ५८७ रूपैयाँमा आयो। चार कारोबार दिनमा यसको मूल्य २८ प्रतिशत घट्यो।
२०८१ फागुनमै यसको लकिङ पिरियड खुले पनि यसको पनि दोहोरो आइजिन रहिरहँदा सञ्चालकहरूले सेयर बिक्री गर्न पाएका थिएनन्। अहिले एउटै आइजिन हुने भएसँगै केही सञ्चालकले सेयर बिक्रीमा राखिसकेका छन्।
पाँच प्रतिशतभन्दा बढी सेयर धारण गरेका आधारभूत सेयरधनीहरूले १५ दिन अगावै जानकारी दिनुपर्ने व्यवस्था अनुसार हालै उनीहरूले सेयर बिक्री गर्न लागेको जानकारी दिएका हुन्।
विशाल अग्रवाल, जगदिश अग्रवाल, नन्द किशोर मुन्दडा लगायत सात जनाले करिब ९ लाख १३ हजार कित्ता सेयर बिक्री गर्न लागेको जानकारी दिएका हुन्।
यसले पनि सेयर आपूर्ति बढ्ने आशंकामा मूल्य उच्च घटिरहेको हो।
बिहीबार भने यसको मूल्यमा केही सुधार भएको छ। मूल्य ५ प्रतिशत बढेर ६२० रूपैयाँमा सेयर कारोबार भइरहेको छ। एक वर्षमा यसको सेयर मूल्य एक हजार २१ रूपैयाँसम्म पुगेको थियो।
हाल यसको कुल ५५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छ।
घट्दो खुद नाफा, न्यून प्रतिसेयर आम्दानीको कारण पनि यसको मूल्यमा पहिले जस्तो आकर्षण देखिँदैन।
२०७९–८० मा यसको खुद नाफा एक करोड ९८ लाख रूपैयाँ थियो। प्रतिसेयर आम्दानी ३ रूपैयाँ ५७ पैसा थियो। २०८१–८२ मा नाफा घट्दै ५९ लाख रूपैयाँमा र प्रतिसेयर आम्दानी १ रूपैयाँ २१ पैसा भयो।
गत आर्थिक वर्ष २०८२–८३ मा यसको नाफा बढेर एक करोड ५० लाख रूपैयाँ र प्रतिसेयर आम्दानी २ रूपैयाँ ७० पैसा भयो।
यसले २०७९–८० मा ८.४२ प्रतिशत र २०८०–८१ मा ५.२६ प्रतिशत लाभांश दिएको छ। गत वर्षको नाफापछि लाभांश घोषणा गरिसकेको छैन।