पठाओले खाना डेलिभरी सेवा सुरु गर्ने भएको छ। पठाओ नेपालको स्थापना भएको २ वर्षको अवसरमा कम्पनीले यस्ताे सेवा सुरु गर्न लागेको हो।
अर्को हप्तादेखि यो सेवा सुरु हुने पठाओका क्षेत्रिय निर्देशक अशिममान सिंह बस्न्यातले जानकारी दिए।
अन्य खाना डेलिभरी कम्पनी भन्दा पठाओको सेवा पृथक हुने उनको दावी छ।
‘धेरै टाढाको डेलिभरी लिँदा खाना सेलाउने र समय पनि धेरै लाग्ने भएकोले हामीले ग्राहकको लोकेसनको ४ किलोमिटर भित्रको रेष्टुरेन्टको मात्र अर्डर लिन्छौं र पछि यसको दुरी अझै घटाउँछौं,’ उनले भने।
ग्राहकले धेरै पर्खनु नपरोस भनेर एउटा राइडरले, एउटा रेष्टुरेन्टबाट एउटा ग्राहकको खाना डेलिभरी गरेपछि मात्रै अर्को डेलिभरी गर्न पाउने बस्न्यातले जानकारी दिए।
पठाओमा खाना अर्डर गर्दा न्यनतम जति रुपैयाँको पनि अर्डर गर्न पाइने छ।
‘हामीले ५० रुपैयाँको खाना पनि डेलिभरी गर्छौ तर एउटा अर्डरको एक सय रुपैयाँ डेलिभरी चार्ज लाग्ने छ,’ उनले भने।
बस्न्यातकोअनुसार हाल उपत्यकामा करिव १ सय वटा रेष्टुरेन्टसगँ सम्झौता भएको छ। निकट भविष्यमा यसको सङ्ख्या एक हजार बनाउने तयारी छ।