टिकटकको माउ कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।
उनले भारतीय अर्बपति गौतम अदाणीलाई पछि पार्दै एसियाकै धनी बनेका हुन्।
इकोनोमिक टाइम्सका अनुसार ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्समा झाङको सम्पत्ति १०५ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ।
४३ वर्षीय झाङको सम्पत्ति सन् २०१९ मार्चमा १३ अर्ब डलर थियो। त्यसयता उनको सम्पत्ति आठ गुणाभन्दा बढी बढेको हो। यो महिना मात्रै उनको सम्पत्ति १२ अर्ब डलरभन्दा बढी बढेको छ।
झाङ यसअघि नै चीनका सबभन्दा धनी व्यक्ति बनिसकेका थिए।
बाइटडान्सको पछिल्लो मूल्यांकनमा ब्ल्याकरक, फिडेलिटी इन्भेस्टमेन्ट्स र टी. रो प्राइसजस्ता लगानी संस्थाको मूल्यांकनलाई समावेश गरेपछि झाङको सम्पत्तिमा ठूलो वृद्धि देखिएको हो।
झाङले टिकटकको माउ कम्पनी बाइटडान्सबाट आफ्नो सम्पत्ति बनाएका हुन्।
बाइटडान्सले पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा पनि लगानी बढाइरहेको छ। कम्पनीले डौबाओ च्याटबट र सिडान्स भिडिओ निर्माण उपकरण लगायत एआई सम्बन्धी उत्पादन विकास गरेको छ।
झाङले बाइटडान्सको एआई लगानीलाई निरन्तर प्राथमिकता दिएको अनुसन्धान संस्था ओम्डियाका प्रमुख विश्लेषक लियान जे सूले बताएका छन्।
टिकटकले अमेरिकामा नियामकीय निगरानी सामना गरिरहेका बेला पनि बाइटडान्सले एआईमा लगानी जारी राखेको उनले बताएका छन्।
कम्पनीसँग रहेको ठूलो परिमाणको सामाजिक सञ्जाल सम्बन्धी तथ्यांक एआई मोडल विकासमा प्रयोग गर्न सकिने सम्भावना रहेको पनि उनको भनाइ छ।
सूका अनुसार टिकटकको भिडिओ प्लेटफर्मबाहेक एआई सम्बन्धी उत्पादन र सेवा अहिले बाइटडान्सका लागि महत्वपूर्ण अवसर बनेका छन्। तर चीनको एआई बजारमा रहेको तीव्र प्रतिस्पर्धा कम्पनीका लागि चुनौती रहेको उनले बताएका छन्।
बाइटडान्स निजी कम्पनी भएकाले ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सले कम्पनीको मूल्यांकनमा १० प्रतिशत जोखिम छुट लागू गर्ने गरेको छ।