काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ।
सोमबार बसेको नगर सभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संशोधन सहित स्वीकृत गरेको हो।
नगरसभाको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यपालिका सदस्यहरूबाट प्राप्त राय, सुझाव र सल्लाहलाई आधार बनाएर नीति तथा कार्यक्रम संशोधनसहित पारित गर्न प्रस्ताव पेस गरेकी थिइन्।
उनले कार्यपालिका सदस्यहरूबाट प्राप्त सुझावले बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक निर्माणमा सहयोग पुग्ने बताइन्।
काठमाडौं महानगरपालिकाले सुशासनयुक्त, छिटो, छरितो, जनमुखी तथा सहज सेवा प्रवाहलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सदस्यहरूबाट आएका नवीन तथा सिर्जनात्मक सुझाव कार्यान्वयन गर्ने जानकारी दिइन्।
केही सुझाव महानगरपालिकाले बनाएका ऐन तथा कानुन संशोधनसँग सम्बन्धित रहेको भन्दै उनले आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता पनि जनाइन्।
उनले भनिन्, ‘यहाँहरूले राख्नुभएको राय, सल्लाह, सुझावलाई आधारित बनाएर नीति तथा कार्यक्रम, बजेट बनाउँनेछौं। हामीले बनाउने आर्थिक विधेयक र विनियोजन विधेयकमा पनि यहाँहरूले राख्नुभएको राय सुझावले योगदान पुर्याउने छ, काठमाडौं महानगरबासीले साँच्चिकै महानगरपालिकाले गरिरहेको कामको आवास गर्न सक्नुहुनेछ। हामीले नै बनाएका ऐन कानूनहरूमा संशोधन गर्नु आवश्यक भएका केही सुझावहरू पनि आएका छन्। त्यसका लागि आवश्यक कारबाही अगाडि बढाउनेछौँ। साथै काठमाडौं महानगरपालिकालाई हामीले सुशासनयुक्त र सँगसँगै हामीले प्रवाह गर्ने सेवाहरू छिटो, छरितो, जनतामुखी र सँगसँगै सरल र सहज पनि होस् भन्ने हामी सबैको उद्देश्य हो।’
उनले अगाडि भनिन्, ‘यसका लागि यहाँहरूले दिनुभएको नविन र सँगसँगै शृंजनात्मक सुझावहरू पक्कै पनि उपयोगी छन्, नीति कार्यक्रम बजेट र सँगसँगै हामीले बनाउने ऐन कानूनहरूमा पनि यसले उल्लेखनीय योगदान पुर्याउने छ । यसतर्फ हाम्रो ध्यानाकृष्ट भएको पनि छ र यसलाई क्रमशः रूपमा कार्यान्वयन गर्दै लाग्नेछौं।’
महानगरको नीति तथा कार्यक्रम स्वीकृत भएसँगै आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेट, आर्थिक विधेयक, २०८३ र विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्न नगर सभाको अर्को बैठक असार ४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा बस्ने भएको छ।
महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यवाहक प्रमुख डंगोलले नगरसभामा बिहीबार प्रस्तुत गरेकी थिइन्। –न्युज एजेन्सी नेपाल