युरोपेली संघ (इयू) ले अति कम विकसित मुलुकका उत्पादनलाई भन्सार र कोटारहित बजार पहुँच दिँदै आएको 'एभ्रिथिङ बट आम्रस (इबिए) व्यापार सहुलियत कार्यक्रम लागू भएको २५ वर्ष पूरा भएको छ।
यस अवधिमा नेपालले पनि युरोपेली बजारमा आफ्ना उत्पादन निर्यात गर्ने अवसर पाएको छ।
तर, उपलब्ध सहुलियतको उपयोग, निर्यात विस्तार र नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि कायम रहने बजार पहुँचका विषयमा अझै चुनौती छन्।
इबिए कार्यक्रमको २५ वर्ष पूरा भएको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा यसै विषयमा छलफल गरिएको छ।
निर्यात व्यवसायी महासंघ नेपालले इयू नेपाल प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय व्यापार केन्द्र र एकाउन्टेबिलिटी ल्याबको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच र निर्यात विस्तारका लागि इयूको सहयोग महत्त्वपूर्ण रहेको बताए।
उनले नेपालको निर्यात क्षमता बढाउन, युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्न र निर्यातकर्ताले भोग्दै आएका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।
'नेपालको निर्यात क्षमता अभिवृद्धि गर्न, युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच बढाउन र निर्यातकर्ताले भोग्दै आएका व्यावहारिक समस्या समाधान गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,' उनले भने।
मन्त्री शाहले आगामी दिनमा युरोपेली बजारमा निर्यात बढाउन निजी क्षेत्रसँगको सहकार्यलाई अघि बढाउने पनि बताए।
इयूले नेपालको निर्यात प्रवर्द्धनमा गर्दै आएको सहयोग थप प्रभावकारी र परिणाममुखी हुने उनको विश्वास छ।
इबिए कार्यक्रमअन्तर्गत अति कम विकसित मुलुकले हतियारबाहेकका सबै वस्तु युरोपेली बजारमा भन्सार र कोटाबिना निर्यात गर्न पाउँछन्।
यसले नेपाली उत्पादनलाई युरोपेली बजारमा प्रवेश गर्ने अवसर दिएको छ।
कार्यक्रममा इबिएबाट नेपालले प्राप्त गरेका अवसरको उपयोगबारे समीक्षा गरिएको थियो।
नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि युरोपेली बजारमा निर्यात गर्दा आउन सक्ने चुनौती र त्यसका लागि गर्नुपर्ने तयारीबारे पनि छलफल भएको थियो।
नेपालका लागि इयूका राजदूत चाल्स ह्वाइटलीले नेपाली उत्पादनको विशिष्टता र मौलिकताको प्रशंसा गरे।
अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै उनले युरोपेली बजारमा निर्यात गर्दा व्यवसायीले भोगिरहेका समस्या समाधानमा इयूको सहयोग निरन्तर रहने बताए।
निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द घिमिरेले युरोपेली बजारमा प्रवेश र निर्यातका क्रममा देखिएका समस्या समाधान गर्न इयू र नेपाल सरकारबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा युरोपेली बजारमा निर्यात गरिरहेका नेपाली उद्यमीले आफ्ना अनुभव र चुनौती प्रस्तुत गरेका थिए।
सो अवसरमा निर्यातसम्बन्धी विभिन्न व्यापार निर्देशिका पनि सार्वजनिक गरियो।
कार्यक्रममा सहभागीहरूले ब्रसेल्सस्थित युरोपेली आयोगको चार्लेमेन भवनमा नोभेम्बर ४ मा आयोजित इबिएको २५औं वार्षिकोत्सवको मूल समारोहको प्रत्यक्ष प्रसारण पनि हेरेका थिए।
उक्त समारोहमा इयूका उच्च अधिकारी, अति कम विकसित मुलुकका प्रतिनिधि र व्यापार क्षेत्रका नेतृत्वकर्ताहरू सहभागी थिए।