भन्सार छली र जाँचपासमा मिलेमतो गरिएको आशंकामा सरकारले नियन्त्रणमा लिएकामध्ये ६४९ गाडी फुकुवा गरेको छ।
मुस्ताङ जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार दिउँसोबाट क्रमश: बिक्रेता कम्पनीहरूले गाडी भित्र्याउन थालेका छन्।
यसअघि अर्थ मन्त्रालयले छानबिन गरी कुनै अनियमितता नभएको भने पनि प्रधानमन्त्री कार्यालयको निर्देशनमा बिनाकारण यी गाडी प्रहरीले नियन्त्रणमा राखेको थियो।
'बजेटपछि रोकिएका गाडीहरू सबै छुटिसके। हिजोदेखि नै बिक्रेताहरूले गाडी लैजान थाल्नुभयो। केही लैजाने क्रममा छन्,' मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले सेतोपाटीसँग भने।
बजेटपछि नियन्त्रणमा लिइएका ती गाडीको आयात प्रक्रियाबारे अर्थ मन्त्रालय र भन्सार विभागले छानबिन गरेको थियो। कोरला नाकाबाट छुटेका र प्रहरीले नियन्त्रणमा लिएका ती गाडी बिवाइडीको अधिकृत बिक्रेता साइमेक्स इंकले आयात गरेको हो।
सरकारले भन्सार प्रतिनिधि भूपालराज शाक्य र अर्थ मन्त्रालयका नीरन भट्टराईसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि सम्मिलित छानबिन समिति बनाएको थियो। समितिले प्रारम्भिक प्रतिवेदन पनि बुझाइसकेको छ। प्रतिवेदनले ती गाडी आयातमा सबै प्रक्रिया पुगेको र अनियमितता नभएको जनाएको छ।
जेठ २७ र २८ गते संसदीय समितिको बैठकमा अर्थमन्त्री वाग्ले, अर्थसचिव घनश्याम उपाध्याय र भन्सार महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि कोरलाबाट आएका गाडीमा कुनै त्रुटि नभएको बताएका थिए।
अर्थ मन्त्रालयले केही समस्या नदेखिएको भनेपछि पनि सशस्त्र प्रहरी बलको नियन्त्रणमा रहेका गाडी छाडिएको थिएन। अर्थ मन्त्रालयले कोरला भन्सार कार्यालयलाई यी गाडीको सवालमा प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार काम गर्न भनेको थियो।