स्थलमार्गबाट चीनसँग सबैभन्दा बढी व्यापार हुने रसुवा नाका भदौ १० गते आएको बाढीपछि अवरूद्ध छ।
त्यसपछि भदौ १२ गतेदेखि तातोपानी नाका पनि सञ्चालनमा छैन।
यी दुवै प्रमुख नाकाबाट सामानको आवतजावत रोकिएपछि चीनसँग स्थलमार्गबाट व्यापार गर्ने कोरला नाकामा भने चहलपहल बढेको छ।
भदौ १५ गतेपछि कोरला नाकामा सामान बोकेका कन्टेनरको संख्या बढ्न थालेको छ।
रसुवा र तातोपानी नाका अवरूद्ध भएपछि ती नाकाबाट हुने व्यापारको चाप अहिले मुस्ताङको कोरला नाकामा देखिन थालेको कोरला भन्सार कार्यालयले जनाएको छ।
पछिल्ला दिनहरूमा यो नाकाबाट दिनकै दर्जन बढी सामान बोकेका कन्टेनर पास हुन थालेका छन्।
दर्जन बढी विद्युतीय गाडी आयात भएको छ। दिनकै करिब १० करोड बराबरको राजस्व उठ्न थालेको छ।
कोरला भन्सार प्रमुख विदुर चुडालले तातोपानी र रसुवा नाकाको चाप क्रमशः कोरला नाकामा बढ्न थालेको बताए।
यो नाका गण्डकी प्रदेशको मुस्ताङमा छ।
'चीनसँगको व्यापार आयात निर्यातको हिसाबले रसुवा र तातोपानी नाकाको चाप अहिले मुस्ताङमा देखिएको छ। कन्टेनरहरूको संख्या निकै बढेको छ। हामीले पनि सोहीअनुसार सहजीकरण गरेका छौं,' उनले भने।
पछिल्लो एक वर्षदेखि चीनसँगको स्थलमार्ग व्यापारका लागि रसुवा, तातोपानी र कोरला नाका सञ्चालनमा थिए।
यीमध्ये रसुवा र तातोपानीबाट ठूलो परिमाणमा सामान आयात–निर्यात हुने गरेको थियो भने कोरला नाकाबाट तुलनात्मक रूपमा थोरै मात्र व्यापार हुँदै आएको थियो।
तीनवटै नाका सञ्चालनमा हुँदा पनि कोरला भन्सारमा आयात–निर्यात र भन्सारसम्बन्धी गतिविधि हुँदै आएका थिए।
तर, अहिले रसुवा र तातोपानी नाका अवरूद्ध भएपछि कोरला नाकामा स्वाभाविक रूपमा चाप बढेको भन्सार कार्यालयले जनाएको छ।
कोरला नाकाबाट आयात निर्यातको क्रममा साउन १ देखि हालसम्म एक अर्ब २० करोड राजस्व संकलन भएको थियो।
त्यसमध्ये भदौ १० गतेसम्म ५२ करोड रूपैयाँ राजस्व संकलन भएको थियो।
पछिल्लो १५ दिनमा भने करिब ७० करोड रूपयाँको राजस्व संकलन भएको छ। यसमध्येपनि पछिल्लो साता राजस्व संकल निकै बढेको छ।
साउन १ देखे भदौ १० गतेसम्म १३३ सामान बोकेका कन्टेनर आएकोमा पछिल् १५ दिनको अवधिमा १५० कन्टेनर सामान आयात भएको छ।
पछिल्लो साता दैनिक १५ वटासम्म कन्टेनर आउने गरेका छन्।
विद्युतीय गाडीको आयात पनि बढेको छ। भदौ १० गतेसम्म कोरला नाकाबाट १२० वटा विद्युतीय गाडी आयात भएका थिए।
त्यसपछिको १५ दिनमा मात्रै थप १५० वटा विद्युतीय गाडी आयात भएको छ।
नाकामा व्यापारको चाप बढेसँगै भन्सार सहजीकरणका लागि जनशक्ति र पूर्वाधारसमेत थपिएको भन्सार विभागले जनाएको छ।
भन्सार विभागका अनुसार भदौ १० गतेपछि कोरला नाकामा तीन जना भन्सार अधिकृत र तीन जना नायब सुब्बा थपिएका छन्।
नाकामा क्वारेन्टाइन कार्यालय पनि सञ्चालनमा ल्याइएको छ। अस्थायी संरचना बनाएर क्वारेन्टाइन स्थापना गरिएको हो।
यसअघि कोरला नाकामा सीमित संख्यामा कर्मचारीलाई व्यवस्थापन गरिएको थियो।
अहिले व्यापारिक गतिविधि बढेपछि कर्मचारीका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ भने कर्मचारी आवासगृह निर्माणको काम पनि अघि बढिरहेको छ।
कोरला नाका नियमित रूपमा सञ्चालनमा आएको धेरै समय भएको छैन। २०८२ भदौ ३० गतेदेखि मात्रै नाका नियमित सञ्चालनमा आएको थियो।
त्यतिबेला पनि बाढीपहिरोका कारण रसुवा र तातोपानी दुवै नाका अवरूद्ध भएपछि कोरला नाकाबाट नियमित आयात–निर्यात सुरू भएको थियो।
केही महिनामै रसुवा र तातोपानी नाका सञ्चालनमा आएपछि कोरला नाकाको व्यापारिक गतिविधि सुस्ताएको थियो।
यद्यपि गत वर्ष बाह्रै महिना यो नाका सञ्चालनमा आएको थियो।
कोरला नाकाको व्यापारिक गतिविधि भने त्यसअघि पनि पूर्ण रूपमा शून्य थिएन।
विसं २०५९ पछि नाका नियमित रूपमा खुला नभए पनि वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो।
मेलाको समयमा सीमित आवतजावत र व्यापार हुने गरेको थियो। स्थानीय बासिन्दाले पनि मेला अवधिमा नेपाल–चीन सीमापार व्यापार गर्दै आएका थिए।
कोरोना महामारीपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रूपमा बन्द भयो।
त्यसपछि व्यापार मेला र नियमित आवतजावत दुवै रोकिए। चार वर्षपछि २०८० मा नाका अस्थायी रूपमा सञ्चालनमा आएको थियो।
त्यतिबेला स्थानीय बासिन्दालाई परिचयपत्रका आधारमा सीमापार आवतजावतको सुविधा दिइएको थियो।
अहिले भने रसुवा र तातोपानी नाका अवरूद्ध भएपछि कोरला नाका चीनसँग स्थलमार्गबाट व्यापार गर्ने सञ्चालनमा रहेको एक मात्र नाका बनेको छ।
पछिल्लो समय यस नाकामा कन्टेनर, भन्सार गतिविधि, क्वारेन्टाइन र कर्मचारी व्यवस्थापनसँगै व्यापारिक चहलपहल बढेको हो।