अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र स्रोत व्यवस्थापनका विषयमा विकास साझेदारसँग छलफल थालेका छन्।
सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा स्थानीय विकास साझेदारहरूको बैठक सुरू भएको हो।
बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टर सहभागी छन्।
गत भदौ १० गते रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो।
बाढीपछि खोज तथा उद्धार, राहत र प्रारम्भिक पुनरुत्थानका काम भइरहेका छन्।
बैठकमा विपद्पछिको खोज तथा उद्धार र प्रारम्भिक पुनरुत्थानको समीक्षा हुने बताइएको छ।
द्रुत विपद् आवश्यकता आकलन र क्षति मूल्यांकनबारे पनि छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
विपद्पछिको पुनरुत्थानका लागि आवश्यक स्रोत व्यवस्थापनबारे विकास साझेदारसँग सहकार्यका विषयमा समेत छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ।