अर्थ मन्त्रालयमा दुई सहसचिव फर्किएका छन् भने एक नयाँ सहसचिव थपिएका छन्।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहसचिवहरूको सरूवा तथा पदस्थापन गर्ने निर्णय गरेसँगै नारायणप्रसाद रिसाल र गोकुल बाँस्तोला अर्थ मन्त्रालयमा सरूवा गरेको हो।
बन्धुप्रसाद बाँस्तोलालाई पनि अर्थ मन्त्रालयमा सरूवा गरिएको हो।
रिसाल कोशी प्रदेश मुख्यमन्त्री कार्यालयबाट संघीय सरकारको अर्थमन्त्रालयमा सरूवा गरिएको हो।
उनीले यसअघि अर्थ मन्त्रालयमै सहसचिवका रूपमा काम गरिसकेका छन्।
२०८० माघमा गृहबाट अर्थ मन्त्रालयमा सरूवा भएका रिसालले अर्थ मन्त्रालयमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए।
त्यसपछि २०८१ माघमा उनलाई अर्थबाट गृह मन्त्रालयमा सरूवा गरिएको थियो।
गोकुल बाँस्तोला पनि अर्थसम्बद्ध कामको अनुभव भएका कर्मचारी हुन्। उनी लेखा समूहका उपसचिवका रूपमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा काम गरिसकेका थिए।
सहसचिवमा बढुवा भएपछि उनी लोक सेवा आयोगको धनकुटा कार्यालयको प्रमुखका रूपमा कार्यरत थिए।
बन्धु प्रसाद बाँस्तोला भने गृह प्रशासनमा लामो समय काम गरेका सहसचिव हुन्।
उनी २०७८ चैत १८ देखि २०७९ फागुन १९ सम्म बर्दियाको प्रमुख जिल्ला अधिकारी थिए।
त्यसपछि उनी गृह प्रशासनमै रहेर विभिन्न जिम्मेवारीमा काम गरेका थिए।
२०८१ माघमा झापाको प्रमुख जिल्ला अधिकारीबाट उनलाई गृह मन्त्रालयमा सरूवा गरिएको थियो।
हाल उनी लुम्बिनी प्रदेश अर्थमन्त्रालयमा कार्यरत रहेकोमा संघीय सरकारको अर्थ मन्त्रालयमा सरूवा भएका हुन्।
सहसचिव भएपछि उनले संघीय सरकारको अर्थमा काम गरेका थिएनन्।