आफूले चलाई रहेको सिमकार्ड आफ्नै नाममा ल्याउन नेपाल टेलिकमले आग्रह गरेको छ।
ग्राहकलाई आफ्नो पहिचान सुरक्षित राख्न र नागरिक एप लगायत चलाउन पनि आफ्नै नाममा सिमकार्ड अनिवार्य भइसकेको छ।
टेलिकमका अनुसार पहिले आफ्नो नाममा सिम रहेको नरहेको थाहा पाउन *९९# डायल गर्नुपर्छ। डायल गर्ने बित्तिकै सिम कसको नाममा छ, देखाउँछ।
यदि आफ्नो नाममा सिम रहेनछ भने जसको नाममा सिम छ, सो व्यक्तिसहित ग्राहकले नेपाल टेलिकमको सेवा केन्द्र (कार्यालय) पुग्नुपर्ने हुन्छ।
दुवै पक्षले आफ्नो पहिचान खुल्ने नागरिकता वा सवारी चालक अनुमति पत्र (लाइसेन्स), पार्सपोर्ट वा राष्ट्रिय परिचय पत्र वा मतदाता परिचय पत्रमध्ये कुनै एउटा कागजात पनि लिएर सेवा केन्द्र पुग्नुपर्ने हुन्छ।
जसको नाममा पहिले सिम छ, सो व्यक्तिले एउटा र जसको नाममा सिम ल्याउने हो सो व्यक्तिले दुई वटा पार्सपोर्ट साइजको फोटो पनि सेवा केन्द्रमा कागजात सहित बुझाउनुपर्ने हुन्छ।
थप प्रश्न भएमा पनि सेवा केन्द्रमै सोधपुछ गर्न सकिने नेपाल टेलिकमले बुझाएको छ।
आफ्नो नामको सिम अरू कसैलाई प्रयोग गर्न दिनेले पनि नामसारीमा साथ दिएर सघाउनुपर्छ।
सवारी दुर्घटनाको क्रममा वा अपराधमा आफ्नो नामको सिम प्रयोग भएको पाइएमा समस्या हुनसक्छ।