साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा इजरायलको अनुभवबाट लाभ लिन नेपालले सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ।
अनुसन्धान र नवप्रवर्तनमा लगानी तथा प्रविधिको प्रयोगमार्फत नेपालको आर्थिक विकासमा योगदान पुर्याउन सकिने बताइएको छ।
नेपालस्थित इजरायली दूतावासले मंगलबार काठमाडौंमा आयोजना गरेको 'इजरायल साइबर एन्ड एआई' कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसहित सरकारी, बैंकिङ र सूचना प्रविधि क्षेत्रका प्रतिनिधि सहभागी थिए।
मन्त्री पुनले इजरायल अनुसन्धान र नवप्रवर्तनमा अग्रणी देश रहेको बताए। इजरायलले कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतभन्दा बढी रकम अनुसन्धान तथा विकासमा खर्च गर्ने गरेको उनले उल्लेख गरे।
'इजरायल विकसित र शक्तिशाली हुनुको एउटा प्रमुख कारण अनुसन्धान र नवप्रवर्तनमा गरेको ठूलो लगानी हो,' उनले भने।
नेपालले पनि मित्रराष्ट्रसँग सरकारीस्तरमा सहकार्य बढाउनुपर्ने मन्त्री पुनको भनाइ थियो।
निजी क्षेत्रका अनुसन्धान केन्द्र र उद्योगबीच साझेदारी गर्न सके नयाँ प्रविधि विकास गर्न र आर्थिक विकासमा योगदान पुर्याउन सकिने उनले बताए।
कार्यक्रममा इजरायली राजदूत श्मुलिक एरी बासले साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्तामा इजरायलको अनुभव नेपालसँग साझा गर्दा प्रविधि विकासका नयाँ अवसर खुल्ने बताए।
उनले प्रविधिका चुनौतीलाई अवसरका रूपमा लिएर काम गर्ने इजरायलको अनुभव उपयोगी हुने बताए।
राजदूत बासले नोभेम्बर ९ देखि १२ सम्म नेपाली कृत्रिम बुद्धिमत्ता तथा साइबर सुरक्षा क्षेत्रका प्रतिनिधिमण्डलले इजरायल भ्रमण गरेको जानकारी पनि दिए।
कार्यक्रममा इजरायलका चार विज्ञले साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता, प्रविधि विकास र औद्योगिक नवप्रवर्तनका विषयमा प्रस्तुति दिएका थिए।
छलफलमा नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आइटी) का उपाध्यक्ष विभूषण बिष्ट र कार्यसमिति सदस्य नारायण कोइराला पनि सहभागी थिए।
कार्यक्रममा इजरायलको स्थापना, उत्पादन क्षमता र प्रविधि विकाससम्बन्धी कृत्रिम बुद्धिमत्ताबाट तयार पारिएका भिडियो पनि देखाइएको थियो।
दूतावासले नेपाल र इजरायलबीच प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा ज्ञान आदानप्रदान र संस्थागत साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।