टिकटकले आफ्नो 'फेमिली पेयरिङ' सुविधालाई अद्यावधिक गर्दै नयाँ फिचरहरू सार्वजनिक गरेको छ।
नयाँ फिचरले अभिभावकलाई किशोरकिशोरीहरूले प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे थप जानकारी उपलब्ध गराउनुका साथै उनीहरूको अनलाइन अनुभवलाई सुरक्षित र सकारात्मक बनाउन आवश्यक कदम चाल्न सहयोग गर्नेछ।
पुनः डिजाइन गरिएको 'फेमिली पेयरिङ' ड्यासबोर्डमा चार प्रमुख क्षेत्रका जानकारी समेटिएका छन्।
जसमा स्क्रिन टाइम, अन्तरक्रिया, सामग्रीमा रुचि र सार्वजनिक पोस्ट समावेश छन्।
यो अद्यावधिकले अभिभावकलाई आफ्ना किशोरकिशोरीको गतिविधि बुझ्न, उनीहरूको डिजिटल बानीमा आएको परिवर्तन पहिचान गर्न र व्यवस्थापन गर्नुपर्ने सेटिङबारे सूचित निर्णय लिन सहज बनाउने उद्देश्य राखेको छ।
यो सुरुवात किशोरकिशोरीका खाताका लागि टिकटकले यसअघि नै लागू गरेका सुरक्षा उपायहरूको निरन्तरता हो।
जसमा पूर्वनिर्धारित गोपनीयता तथा सुरक्षा सेटिङ, निजी खाता र उमेरअनुसार उपयुक्त सामग्रीसम्बन्धी नीतिहरू समावेश छन्।
किशोरकिशोरीका खातामा स्क्रिन टाइम पनि पूर्वनिर्धारित रूपमा दैनिक ६० मिनेट तोकिएको छ। यसले डिजिटल बानी व्यवस्थापनका लागि आधार तयार गरेको छ।
नयाँ अद्यावधिकसँगै अभिभावकको ड्यासबोर्डमा स्क्रिन टाइमसम्बन्धी जानकारीलाई थप प्राथमिकता दिइएको छ।
यो जानकारी अब ड्यासबोर्डमा पहिलो स्थानमा देखिनेछ। अभिभावकले आफ्ना किशोरकिशोरीको औसत स्क्रिन टाइम, रातिको समयमा प्लेटफर्म प्रयोग गरेको समय र समय व्यवस्थापनसम्बन्धी सेटिङ हेर्न सक्नेछन्।
अन्तरक्रियासम्बन्धी सुविधाले किशोरकिशोरीको फलोअर र फलोइङ संख्यामा आएको परिवर्तन, उनीहरू जोडिएका खाताहरू र ब्लक गरेका खाताबारे थप जानकारी उपलब्ध गराउनेछ।
आगामी केही महिनाभित्र टिकटकले किशोरकिशोरीले प्लेटफर्ममा कसलाई सन्देश पठाइरहेका छन् भन्ने जानकारी अभिभावकले हेर्न मिल्ने सुविधा पनि ल्याउने योजना बनाएको छ।
त्यस्तै, अभिभावकले आफ्ना किशोरकिशोरीको सामग्रीसम्बन्धी रुचिबारे पनि थप जानकारी पाउन सक्नेछन्।
उनीहरूले किशोरकिशोरीले फलो गरेका प्रमाणित सर्जकका भिडियोको नमुना हेर्न पाउनेछन्।
यसले टिकटकमा उनीहरूको अनुभवलाई प्रभाव पारिरहेका समुदाय र विषयवस्तुबारे जानकारी दिनेछ।
टिकटकले परामर्श गरेका किशोरकिशोरीका ८० प्रतिशतभन्दा बढी अभिभावकले यस्तो सुविधा उपलब्ध हुनुपर्ने बताएका थिए।
नयाँ ड्यासबोर्डमा सार्वजनिक रूपमा साझा गरिएका पोस्टसम्बन्धी जानकारी पनि समावेश गरिएको छ।
यसबाट अभिभावकले आफ्ना किशोरकिशोरीले प्रत्येक साता सार्वजनिक रूपमा के पोस्ट गरेका छन् र ती पोस्टमा कति भ्युज आएका छन् भन्ने हेर्न सक्नेछन्।
नयाँ 'फेमिली पेयरिङ' सुविधालाई तीन प्रमुख सिद्धान्तका आधारमा विकास गरिएको छ।
पहिलो, स्पष्ट र उपयोगी जानकारी उपलब्ध गराउने, दोस्रो, अभिभावकलाई सूचित निर्णय लिन सहयोग पुग्ने सन्दर्भ उपलब्ध गराउने र तेस्रो, किशोरकिशोरीको गोपनीयताको सम्मान गर्ने।
यसले प्रत्येक परिवारको आवश्यकता फरक हुने कुरालाई स्वीकार गर्दै अभिभावकीय उपकरणले अनलाइन गतिविधि नियन्त्रणमा मात्र केन्द्रित नभई अर्थपूर्ण संवादलाई प्रोत्साहन गर्नुपर्ने मान्यता राखेको छ।
टिकटकले परामर्श गरेका ७० प्रतिशतभन्दा बढी अभिभावकले आफ्ना किशोरकिशोरीसँग संवाद सुरू गर्न सहयोग गर्ने उपकरण चाहेको बताएका थिए।
यी जानकारी दैनिक रूपमा अद्यावधिक हुनेछन्।
यसले अभिभावकलाई समयसँगै आएको परिवर्तन नियाल्न र ड्यासबोर्डबाटै सेटिङ समायोजन गर्ने वा प्राप्त जानकारीलाई आफ्ना किशोरकिशोरीसँग संवाद सुरू गर्ने आधारका रूपमा प्रयोग गर्ने निर्णय लिन सहज बनाउनेछ।
पुनः डिजाइन गरिएको यो सुविधा वेब ब्राउजरबाट पनि प्रयोग गर्न सकिनेछ। यसले कम्प्युटर प्रयोग गर्न रुचाउने वा टिकटक एपमा पहुँच नभएका अभिभावकलाई थप विकल्प उपलब्ध गराउनेछ।
दैनिक डिजिटल बानीका अतिरिक्त, किशोरकिशोरीको सम्भावित हानिकारक सामग्रीसँगको सम्पर्कबारे चिन्तित अभिभावकका लागि टिकटकले थप सूचना सुविधा विकास गर्न युवा सुरक्षा तथा मानसिक स्वास्थ्य विज्ञहरूसँग सहकार्य गरिरहेको छ।
बोस्टन चिल्ड्रेन अस्पतालको डिजिटल वेलनेस ल्याब र सेफ अनलाइन स्ट्यान्डर्ड्सका संस्थापक तथा निर्देशक एवं जोन्स हप्किन्स सेन्टर फर सुसाइड प्रिभेन्सनका सम्बद्ध प्राध्यापक डा. ड्यान राइडेनबर्गसँगको सहकार्यमा टिकटकले अभिभावकका लागि नयाँ सूचना प्रणाली विकास गरिरहेको छ।
यो सूचनाको उद्देश्य किशोरकिशोरीले सम्भावित हानिकारक सामग्री खोज्ने प्रयास गरेको हुन सक्ने अवस्थामा अभिभावकलाई जानकारी दिनु हो।
साथै, यस्तो परिस्थितिलाई कसरी सम्बोधन गर्ने, आफ्ना किशोरकिशोरीको अवस्थाबारे कसरी बुझ्ने र सहयोगी संवाद कसरी सुरू गर्ने भन्ने विषयमा विज्ञहरूको सुझावमा आधारित मार्गदर्शन पनि उपलब्ध गराइनेछ। यो सुविधा हाल विकासको क्रममा रहेको छ।
डिजिटल वातावरणमा युवा पुस्तालाई सहयोग गर्नु घरपरिवारमा मात्र सीमित नहुने कुरालाई ध्यानमा राख्दै टिकटकले आफ्नो 'एजुकेटर्स गाइड' पनि सार्वजनिक गरेको छ।
शिक्षक तथा युवा सुरक्षा विज्ञहरूसँगको परामर्शमा तयार गरिएको यो विशेष स्रोत शिक्षकहरूका लागि विकास गरिएको हो।
टिकटकले कसरी काम गर्छ भन्ने व्यावहारिक जानकारी, कक्षाकोठामा प्रयोग गर्न मिल्ने सामग्री तथा विद्यार्थी र परिवारसँग अनलाइन सुरक्षा, डिजिटल कल्याण र सञ्चारमाध्यमसम्बन्धी साक्षरताका विषयमा छलफल गर्न सहयोग पुग्ने मार्गदर्शनको माग शिक्षकहरूले गर्दै आएका थिए।
सोही प्रतिक्रियालाई सम्बोधन गर्न यो मार्गदर्शिका तयार गरिएको हो।
यस स्रोतमा विद्यालय समुदायका लागि आवश्यक जानकारी, उपकरण र मार्गदर्शन समेटिएका छन्।
आगामी केही साताभित्र कक्षाकोठामा प्रयोग गर्न मिल्ने थप सामग्री पनि सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
'एजुकेटर्स गाइड' तथा युवाको सुरक्षासम्बन्धी थप सामग्री टिकटकको सुरक्षा केन्द्रमार्फत उपलब्ध छन्।
टिकटकले आफ्नो समुदायको सुरक्षा गर्नु प्रमुख जिम्मेवारी रहेको जनाएको छ।
किशोरकिशोरी, परिवार र शिक्षकहरूका लागि सुरक्षित डिजिटल अनुभवलाई सहयोग पुर्याउन आवश्यक उपकरण, सुविधा र स्रोतहरूको विकासलाई निरन्तरता दिने पनि कम्पनीले जनाएको छ।