प्रथम कोशी आइटी शिखर सम्मेलन सम्पन्न भएको छ।
शनिबार विराटनगरमा प्रथम कोशी आइटी शिखर सम्मेलन २०२५ सम्पन्न भएको हो।
बीवाइडीको सहयोगमा भएको यो कार्यक्रममा ५८० भ बढी विद्यार्थी, उद्यमी र प्रविधि विज्ञहरू सहभागी थिए।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) कोशीले आयोजना गरेको यो सम्मेलनले कोशीलाई प्रविधिको केन्द्र बनाउने लक्ष्य राखेको छ।
मुख्यमन्त्री हिक्मत कार्कीले सम्मेलनको उद्घाटन गरेका थिए। उनले प्रविधिले नेपालको अर्थतन्त्रलाई नयाँ उचाइ दिन सक्ने बताउँदै आइटी सम्मेलनले यसमा योगदान दिने बताए।
सीएनआईवाईएफ कोशीका अध्यक्ष मुनन रिजालले कोशी प्रदेश प्रविधिमा अघि बढ्ने बताए। उनले संघीयतासँगै सातै प्रदेशबीच विकासमा प्रतिस्पर्धा हुने बताउँदै प्रविधिमा कोशीले नेतृत्व गर्ने दाबी गरे।
उनले यो सम्मेलनले कोशीका युवा र स्टार्टअपलाई प्रेरणा दिएको बताए। सम्मेलनमा एआई, आउटसोर्सिङ, इ-कमर्स र डिजिटल सेवाबारे छलफल भएको थियो।