'मेरो डिजिटल देश' अभियान अन्तर्गत इसेवा मनी ट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ।
उक्त कार्यक्रम कम्पनीका ब्राण्ड एम्बेस्डर तथा कम्पनी व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा सम्पन्न भयो।
इसेवा मनी ट्रान्सफरले नोभेम्बर २८, २०२४ मा कान्तिपुर टेलिभिजन, इसेवा मनी ट्रान्सफर र इसेवाका आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारित डिजिटल गोलाप्रथाको माध्यमबाट “मेरो डिजिटल देश“ अभियानको विजेता घोषणा गरेको थियो।
जस अन्तर्गत रोमानियामा विगत दुई वर्षदेखि पिज्जा बनाउने कम्पनीमा कार्यरत अन्जुला घिमिरे भाग्यशाली विजेता बन्न सफल भएकी छिन्।
इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विजेता अन्जुला घिमिरे र उनको परिवारलाई सपनाको घर जितेको अवसरमा बधाई दिँदै विश्वभर रहेका नेपालीहरूको उत्साहजनक सहभागिताप्रति प्रति आभार व्यक्त गरे।
साथै, उनले 'मेरो डिजिटल देश' अभियानको सफलतासँगै डिजिटल रेमिटेन्स मार्फत सुरक्षित, सहज र पारदर्शी लेनदेनको महत्त्वलाई पुनः जोड दिँदै खुशी व्यक्त गरे।
इसेवा मनी ट्रान्सफरले वैधानिक रेमिटेन्सलाई प्रोत्साहन गर्ने उद्देश्यले 'मेरो डिजिटल देश' अभियान सार्वजनिक गरेको थियो।
डिजिटल रेमिटेन्सलाई प्रवर्द्धन गर्दै आएको कम्पनीले उक्त अभियान अन्तर्गत, विश्वभर रहेका नेपालीहरूले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाउँदा एक भाग्यशाली विजेतालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तल्लाको घर प्रदान गर्ने घोषणा गरेको थियो।
२०८० असोज १ गतेदेखि ३० कात्तिक २०८१ सम्म रेमिटेन्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए। साथै, ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत सेवाग्राहीको घरसम्म पुगेर आकर्षक उपहारहरू समेत प्रदान गरिएको थियो।
बम्पर पुरस्कार विजेता अन्जुला घिमिरेले विजेता घोषित भएकोमा खुशी र कृतज्ञता व्यक्त गरिन्।
उनले नयाँ घर जित्न पाउँदा आफू पूर्ण रूपमा आश्चर्यचकित महसुस गरेको बताउँदै यो क्षण चमत्कार जस्तै लागेको उल्लेख गरिन्।
साथै, आफ्नो सपनालाई साकार बनाउन सहयोग गरेकोमा इसेवा मनी ट्रान्सफरलाई धन्यवाद व्यक्त गर्दै अभियानमा संलग्न सबैलाई आभार प्रकट गरे।