नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन्।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आज (बुधबार) को (माननीय मन्त्रीस्तर) निर्णय बमोजिम च.नं. संस्थान/३१७८ को नियुक्ति पत्रबाट मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी तोकिएको छ।
यसअघि उनी कम्पनीको नायव प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बि.ई. गरेकी छन्।
उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् भने २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी हुन्।
पदभार ग्रहण गर्दै मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।