नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन २०८० देखि २०८२ को वैशाखसम्ममा नेपालमा डिजिटल माध्यमबाट पर्यटकहरूले कुल दुई अर्ब ३४ करोड रूपैयाँ खर्च गरेका छन्। अहिले १० भन्दा बढी मुलुकबाट नेपालमा डिजिटल माध्यमबाट अन्तर्देशीय कारोबार गर्न सकिने भएको छ।
अन्तर्देशीय कारोबार सञ्चालन गर्नका लागि नेपालका दुई भुक्तानी प्रदायक नेपाल क्लियरिङ हाउस लिमिटेड र फोन पेले राष्ट्र बैंकबाट स्वीकृति पाएका छन्।
नेपाल क्लियरिङ हाउस लिमिटेडले भारतको युनाइटेड पेमेन्ट इन्टरफेस (युपिआइ)सँग आबद्ध भएर बैंक तथा वित्तीय संस्थामार्फत् व्यक्ति व्यक्तिबीच भुक्तानी कारोबार गरिरहेको छ। त्यस्तै, फोन पेले पनि युपिआइसँग आबद्ध भएर व्यक्ति र बिक्रेताबीचको कारोबार गराइरहेको छ।
नेपालमा भइरहेको अन्तर्देशीय भुक्तानीमा भारतीय पर्यटकहरूबाट भइरहेको कारोबारको हिस्सा नै उच्च छ।
फोन पेको तथ्यांक अनुसार १६ फागुन २०८० देखि १७ जेठ २०८२ सम्म भारतीय पर्यटकहरूले दुई अर्ब ३७ करोड रूपैयाँ भुक्तानी गरेका छन्।
यसमा सबैभन्दा धेरै खर्च साना होटल, लज, होस्टेलमा गरिएको छ।
यो अवधिमा भारतीयहरूले यस्ता क्षेत्रमा २९ करोड १० लाख रूपैयाँ खर्चिएका हुन्। तारे होटलहरूमा भने भारतीय पर्यटकले २१ करोड ९९ लाख रूपैयाँसम्म तिरेका छन्।
भारतीय पर्यटकहरूले बिगमार्ट, सेल्सबेरी, भाटभटेनी जस्ता क्षेत्रमा समेत २६ करोडभन्दा धेरै खर्च गरेका छन्।
यस्ता पर्यटकले पान पसलमा २४ लाख रूपैयाँ, क्यासिनो र ग्याम्बलिङमा ६४ लाख र नाइट क्लबमा दुई करोड २३ लाखसम्म खर्च गरेका छन्।
अन्तर्देशीय भुक्तानी सेवाको सुरूवातसँगै अब विदेशी पर्यटकलाई आफूसँग रहेको विदेशी मुद्रा साटिरहनु पर्ने वा नगदै रकम बोकेर यात्रामा निस्कनु पर्ने बाध्यता हटेको छ।
यो सुविधाले विदेशी पर्यटकहरू नेपाल भित्रिएदेखि आफ्नो मुलुक फर्किनु अघिसम्म नै यहाँ डिजिटल कारोबार गर्न सम्भव हुँदै गएको छ। यसले उनीहरूको खर्चमा बढोत्तरी हुनसक्ने सम्भावना समेत रहने मानिएको छ।
पर्यटकहरूले सजिलै भुक्तानी गर्न सक्ने भएकोले यसले स्थानीय व्यापारीको अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्ने र उनीहरूको व्यापारमा विस्तार हुनसक्ने सम्भावना समेत छ। त्यस्तै, नेपाली अर्थतन्त्रलाई डिजिटल प्रणालीमा लैजान सहज हुने विश्वास गरिएको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेडले भने अलि पे प्लस नेटवर्कका माध्यमबाट १० मुलुकका नागरिकले नेपालमा अन्तर्देशीय भुक्तानी गर्न सक्ने व्यवस्था समेत गरेको छ।
यी हुन् भारतीय पर्यटक तथा नागरिकले नेपालमा डिजिटल माध्यमबाट धेरै भुक्तानी गरेका १० क्षेत्र
सेवा |
भुक्तानी रकम नेरूमा |
साना होटल तथा लज |
२९ करोड १० लाख |
ठूला रिसोर्ट तथा तारे होटल |
२१ करोड ९९ लाख |
बिगमार्ट जस्ता ग्रोसरी |
२० करोड ८२ लाख |
रेष्टुरेन्ट तथा खानाखाने स्थान |
२० करोड २६ लाख |
ट्राभल र टुर अपरेटर |
१० करोड ७३ लाख |
गरगहना पसल |
७ करोड ३२ लाख |
स्थानीय किराना पसल लगायत |
६ करोड ५८ लाख |
व्यावसायिक सेवा |
६ करोड ५३ लाख |
कृषि व्यावसायिक सेवा |
६ करोड ११ लाख |
भाटभटेनी जस्ता सुपरमार्केट |
५ करोड ४५ लाख |