नेपाल फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक अलायन्स नेपाल (Fintech Alliance Nepal - FAN) ले नेपाल फिनटेक एक्सपो २०२६ (दोस्रो संस्करण) गर्ने भएको छ।
आगामी असोज २३, २४ र २५ (अक्टोबर ९, १० र ११ ) ललितपुरको हेरिटेज गार्डेनमा सो एक्सपो आयोजना गरिने भएको हो।
पहिलो संस्करणको उल्लेखनीय सफलतापछि आयोजना हुन लागेको यस वर्षको एक्सपो अझ भव्य, व्यवस्थित तथा अन्तर्राष्ट्रिय सहभागितायुक्त हुने अपेक्षा रहेको अलायन्सका अध्यक्ष अमित अग्रवालले बताए।
पहिलो संस्करण दुई दिन सञ्चालन गरिएकामा यस वर्ष लगातार तीन दिन सञ्चालन हुनेछ। यसले सहभागीहरूलाई प्रदर्शनी अवलोकन, व्यावसायिक छलफल, नेटवर्किङ तथा ज्ञान आदान–प्रदानका लागि थप अवसर प्रदान गर्ने विश्वास आयोजकको छ।
यस वर्षको एक्सपोमा ६५ भन्दा बढी एक्जिबिटर बुथ, दुई वटा एक्सपेरियन्स जोन, स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल बैंकिङ, डिजिटल पेमेन्ट, एम्बेडेड फाइनान्स, लेन्डिङ टेक्नोलोजी लगायतका अत्याधुनिक फिनटेक समाधान तथा प्रविधिहरू प्रदर्शन गरिनेछन्।
साथै, विभिन्न कम्पनीहरूले आफ्ना नवीनतम उत्पादन तथा सेवाको अफिसियल प्रोडक्ट लन्च तथा प्रोडक्ट रिभिलसमेत गर्ने कार्यक्रम छ।
एक्सपोको उद्घाटन समारोह पहिलो दिन अर्थात् ९ अक्टोबर २०२६ मा क्लासिक भेन्यु, हेरिटेज गार्डेन परिसरमा आयोजना गरिनेछ।
सहभागी तथा विशिष्ट अतिथिहरूको सहज व्यवस्थापन, पर्याप्त पार्किङ सुविधा तथा ठूलो संख्यामा उपस्थित हुने अतिथिहरूलाई ध्यानमा राखी उद्घाटन समारोहका लागि उक्त स्थान चयन गरिएको आयोजकले जनाएको छ।
यस वर्षको एक्सपोमा ६,००० भन्दा बढी आगन्तुक हुने अपेक्षा गरिएको छ। बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, पेमेन्ट सर्भिस प्रोभाइडर, नियामक निकाय, सरकारी संस्था, लगानीकर्ता, प्रविधि कम्पनी, स्टार्टअप, डेभलपमेन्ट पार्टनर, विद्यार्थी तथा प्रविधिमा रूचि राख्ने सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजकले लिएको छ।
हाल फिनटेक अलायन्स नेपाल (FAN) मा ५३ वटा कर्पोरेट मेम्बर आबद्ध छन्। संस्थाले नेपालको फिनटेक इकोसिस्टमलाई सुदृढ बनाउन नियमित रूपमा फिनटेक फ्राइडे र फिनटेक सोसल कार्यक्रम सञ्चालन गर्दै आएको छ।
त्यस्तै सिटिओ रिट्रिटजस्ता विशेष कार्यक्रममार्फत उद्योगका नेतृत्व तहबीच सहकार्य, अनुभव आदान–प्रदान तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै आएको छ।
यस वर्षको एक्सपोमा विभिन्न स्पोन्सरसिप अवसरहरू उपलब्ध छन्। इच्छुक संस्थाले टाइटल स्पोन्सर, पावर्ड बाई पार्टनर, गोल्ड स्पोन्सर, सिल्भर स्पोन्सर तथा नेटवर्किङ स्पोन्सरका रूपमा सहकार्य गर्न सक्ने आयोजकले जनाएको छ।
नेपाल फिनटेक अलायन्सका अध्यक्ष अमित अग्रवाल।
एक्जिबिटरका लागि प्रति बुथ शुल्क ७५,००० रूपैयाँ निर्धारण गरिएको छ भने अलायन्सका कर्पोरेट मेम्बरहरूलाई ५० प्रतिशत विशेष छुट प्रदान गरिएको छ।
अन्तर्राष्ट्रिय एक्जिबिटरका लागि प्रति बुथ शुल्क अमेरिकी डलर ७५० निर्धारण गरिएको छ।
एक्सपोको पहिलो दिन साँझ सम्पूर्ण स्पोन्सर, एक्जिबिटर, पार्टनर, नियामक निकाय, बैंक, फिनटेक कम्पनी तथा अन्य स्टेकहोल्डरबीच आपसी सम्बन्ध विस्तार र व्यावसायिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विशेष नेटवर्किङ डिनर आयोजना गरिनेछ।
यस संस्करणमा पहिलो पटक प्रिमियम लाउन्ज सर्भिसको व्यवस्था गरिएको छ, जहाँ प्रिमियम पास वाहक, विशिष्ट अतिथि तथा आमन्त्रित प्रतिनिधिहरूका लागि विशेष हस्पिटालिटी तथा बिजनेस नेटवर्किङ सुविधा उपलब्ध हुनेछ।
यस वर्ष 'खल्ती' लाई अफिसियल टिकटिङ पार्टनरका रूपमा नियुक्त गरिएको छ। एक्सपोका प्रवेश टिकटहरू खल्ती प्लेटफर्ममार्फत सहज रूपमा खरिद गर्न सकिनेछ।
सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रूपैयाँ तथा विद्यार्थीका लागि ५० रूपैयाँ निर्धारण गरिएको छ।
साथै, नेपालको फिनटेक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएका सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई कम्प्लिमेन्ट्री पाससमेत उपलब्ध गराइनेछ।
'फिनटेक अलायन्स नेपालले सम्पूर्ण बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, प्रविधि प्रदायक, स्टार्टअप, लगानीकर्ता, नीति निर्माता, नियामक निकाय, विद्यार्थी, सञ्चारमाध्यम तथा प्रविधिप्रेमी सर्वसाधारणलाई नेपाल फिनटेक एक्सपो २०२६ मा सहभागी भई नेपालको डिजिटल वित्तीय भविष्य निर्माणको यात्रामा सहयात्री बन्न हार्दिक आमन्त्रण गर्दछ,' अलायन्सका अध्यक्ष अग्रवालले भने।
उनले थपे, 'नेपाल फिनटेक एक्सपो २०२६ केवल एक प्रदर्शनी मात्र नभई नेपालमा वित्तीय प्रविधि, नवप्रवर्तन, सहकार्य तथा डिजिटल रूपान्तरणलाई नयाँ उचाइमा पुर्याउने साझा मञ्चका रूपमा स्थापित हुने विश्वास छ।'