नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआइएस) प्रतिवेदनअनुसार क्लासिक टेक प्रालिले देशभरका सबै इन्टरनेट सेवा प्रदायकहरूमध्ये सबैभन्दा उच्च ग्राहक वृद्धिदर हासिल गरेको छ।
२०८२ असारदेखि २०८३ असारसम्म क्लासिक टेकका ग्राहक संख्या ५६ प्रतिशतले बढेको हो।
यस अवधिमा कम्पनीको ग्राहक संख्या १ लाख ८७ हजार १३७ बाट बढेर २ लाख ९२ हजार ९२२ पुगेको छ।
ग्राहक वृद्धिदरका आधारमा क्लासिक टेक अन्य प्रमुख इन्टरनेट सेवा प्रदायकभन्दा अगाडि देखिएको छ।
सो अवधिमा क्लासिक टेकको ग्राहक संख्या ५६ प्रतिशतले बढ्दा वाइफाई नेपालको ग्राहक संख्या ४७ प्रतिशत, नेपाल टेलिकमको १९ प्रतिशत, भायानेटको १७ प्रतिशत, वर्ल्डलिंकको ७ प्रतिशत र डिसहोमको ३ प्रतिशतले बढेको छ कम्पनीको भनाइ छ।
ग्राहक संख्याका आधारमा क्लासिक टेक हाल नेपालको पाँचौँ ठूलो इन्टरनेट सेवा प्रदायक रहेको कम्पनीले जनाएको छ।
कम्पनीको बजार हिस्सा ८.२० प्रतिशत पुगेको छ ।
क्लासिक टेकले पछिल्लो ग्राहक वृद्धिलाई आफ्नो नेटवर्क तथा सेवाप्रति ग्राहकको बढ्दो विश्वासको संकेतका रूपमा व्याख्या गरेको छ।
बजार परिपक्व हुँदै जाँदा ग्राहकले मूल्यसँगै नेटवर्कको गुणस्तर र सेवाको आधारमा इन्टरनेट सेवा प्रदायक छनोट गर्न थालेको कम्पनीको भनाइ छ।
कम्पनीले ग्राहक विस्तारसँगै आफ्नो पूर्वाधारमा समेत लगानी बढाउँदै आएको जनाएको छ।
क्लासिक टेकले आवासीय प्याकेजमा सुरुवाती तहदेखि नै वाइफाइ–६ राउटरलाई मानकका रूपमा प्रयोग गर्दै आएको छ।
कम्पनीको फाइबर नेटवर्क हाल ७४ जिल्लामा विस्तार भएको छ।
कर्पोरेट ग्राहकका लागि कम्पनीले डाटा सेन्टर, डार्क फाइबर, एल–२ तथा एल–३ कनेक्टिभिटी र २४ घण्टा नेटवर्क अपरेसन सेन्टर (एनओसी) सेवा उपलब्ध गराउँदै आएको छ।
कम्पनीले तीव्र ग्राहक वृद्धिसँगै पूर्वाधार र सेवा सहयोग क्षमतामा निरन्तर लगानी आवश्यक रहेको जनाएको छ।
साथै, कम्पनीले नियामकीय प्रावधानको पूर्ण पालना गर्दै जिम्मेवार ढंगले सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
सन् २००९ मा स्थापना भएको क्लासिक टेकले फाइबर ब्रोडब्यान्ड, इन्टरप्राइज कनेक्टिभिटी तथा आइपिटिभी सेवा प्रदान गर्दै आएको छ।