बुधबार सुनको मूल्य इतिहासकै उच्च दरमा कारोबार भयो।
सुनको भाउ प्रतितोला दुई लाख ९५ हजार एक सय रूपैयाँ तोकियो।
बिहीबार फेरि एकै दिन भाउ दुई हजार नौ सय रूपैयाँ घट्यो र दुई लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भयो।
ऐतिहासिक उचाइमा सुनको मूल्य पुगेसँगै केही समयदेखि नै विश्व बजारमा अहिले सुन किन्ने समय हो वा बेच्ने भनेर चर्चा चल्न थालेको छ।
अहिले सुन किन्ने समय हो? वा बेच्ने? अन्तर्राष्ट्रिय बजारमा के देखिइरहेको छ?
यसअघि बुझौं सुनको मूल्यमा कसरी उतारचढाव आइरहेको भन्नेबारे।
सन् २०२५ मा सुनको मूल्यमा ६४ प्रतिशत वृद्धि देखियो। सन् २०२६ को हालसम्म मात्रै सुनको मूल्य करिब १२ प्रतिशतले वृद्धि भइसकेको छ।
नेपाली बजारमा पनि सुनको भाउ एक वर्षमा ७४.४४ प्रतिशतले वृद्धि भएको छ।
२०८१ माघ ३० गते सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँ थियो। अहिले बढेर दुई लाख ९२ हजार दुई सय रूपैयाँ पुगेको हो।
सुनको मूल्य अझै बढ्न सक्ने आकलन छ। विश्व बजारमा सुन, सेयर लगानीका विभिन्न लगानी क्षेत्रमा काम गर्ने मार्केट मेकर गोल्डम्यान सान्चले सन् २०२६ अन्त्यसम्मको सुनको मूल्यको प्रक्षेपण गरेको छ। गोल्डम्यान सान्चले यसअघि गरेको प्रक्षेपण रकम अहिले बढाएको छ।
यसअघि गोल्डम्यान सान्चले सो समयसम्म प्रतिऔंस ४९०० अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको थियो। अब सुनको मूल्य प्रतिऔंस ५४०० डलर पुग्ने प्रक्षेपण गरेको छ।
अहिले नै अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस ४८२९ डलरमा कारोबार भइरहेको छ।
गोल्डम्यान सान्चको प्रक्षेपण जसरी सुनको मूल्य प्रतिऔंस ५४०० डलर पुग्यो भने नेपालमा मूल्य ३ लाख ३७ हजार रूपैयाँसम्म पुग्न सक्छ।
प्रतिऔंस सुनको तौल ३१.१ ग्राम हुन्छ। सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔंस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ।
नेपालमा सामान्यतया सुनको भाउ तोलामा हिसाब गरिन्छ। एक तोला सुन ११.६६४ ग्राम हुन्छ। त्यस्तै अहिले डलरको विनिमयदर एक सय ४७ रूपैयाँ छ।
सान्चको प्रक्षेपण जसरी सन् २०२६ अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस ५४०० पुग्दा डलर भाउ अनुसार एक तोलाको करिब दुई लाख ९८ हजार रूपैयाँ पर्नेछ।
यसमा १० प्रतिशत भन्सार शुल्क, दुई प्रतिशत विलासिता कर र वाणिज्य बैंकले सुन व्यवसायीलाई लिने एक प्रतिशत शुल्क सहित १३ प्रतिशत अतिरिक्त शुल्क ग्राहकले तिर्नुपर्छ।
यस आधारमा एक तोला सुनको भाउ तीन लाख ३७ हजार रूपैयाँसम्म पुग्न सक्ने देखिन्छ। यो भनेको अहिलेको मूल्यमा १५.१३ प्रतिशतको वृद्धि हो।
सुनको मूल्य घटबढ हुनुमा विभिन्न कारण हुन्छन्। त्यसैले ती कारण समेत बुझेर मात्रै लगानी गर्नु सही हुन्छ।
सुनलाई 'सेफ हेभन' मानिने भएकाले अमेरिकी व्यापार नीतिका कारण बढेको अनिश्चितता, सम्भावित मुद्रास्फीति र सन् २०२६ सम्म मन्दीको आशंकाले सुनलाई सुरक्षित लगानीका रूपमा अझ आकर्षक बनाएको छ।
त्यस्तै, गाजा, युक्रेन, यमन, इरान र भेनेजुएला जस्ता मुलुकमा भूराजनीतिक तनावका घटनाक्रमले पनि मूल्य बढाउन भूमिका खेल्दै आएको छ।
यसबाहेक सेयर जस्तै सट्टेबाजी कारोबारका रूपमा पनि अन्तराष्ट्रिय बजारमा सुनको कारोबार हुन्छ। यस्तो कारोबारको कारण समेत मूल्य बढिरहेको छ।
सुनको मूल्य बढाइरहेका यी घटनाक्रममा हुने फेरबदलले मूल्यलाई तुरून्तै घटबढ गराउन सक्छ। त्यसैले यसमा रहेको जोखिम बुझेर मात्र लगानी गर्नु सही हुन्छ।