सिन्धुपाल्चोक स्थित भोटेकोशी जलविद्युत आयोजनाले स्थानीय बासिन्दाहरूको प्रतिनिधित्व गर्ने भोटेकोशी जेन्जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड कम्पनीलाई निःशुल्क सेयर नदिएको बताएको छ।
यसअघि जेनजीका नाममा १० प्रतिशत सेयर माग गरिएकोमा भोटेकोशी पावर कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले दिने सहमति भएको जनाएको थियो।
त्यसपछि पनि विभिन्न सञ्जारमाध्यममा निःशुल्क सेयर दिएको कुरा उठेको भन्दै आयोजनाले फेरि पनि स्पष्ट पारेको हो।
‘सर्वप्रथम त दुवै कम्पनीबीच निःशुल्क सेयर लिने दिने सहमति नभएको स्पष्ट पार्न चाहान्छौं,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानिय जनतालाई उक्त पब्लिक कम्पनीको सेयरधनी बनाइसकेपछि आयोजनाले १० प्रतिशत सेयर प्रतिसेयर अंकित मूल्य १०० रूपैयाँमा जेनजी पब्लिक कम्पनीलाई बिक्री गर्ने र पब्लिक कम्पनीले उक्त सेयर किन्नका लागि चाहिने ऋण बैंकबाट लिने सम्झौता भएको हो।’
उक्त जेनजी पब्लिक कम्पनीले लिने ऋणको जमानी आयोजनाले मिलाउने सहमति भएको पनि उल्लेख गरिएको छ।
यसअघि गत भदौ २५ गतेदेखि जेनजीका नाममा १० प्रतिशत सेयर निःशुल्क माग गर्दै एक समूहले आयोजना ठप्प पारेको थियो।
महिना दिनभन्दा लामो समय आयोजना बन्द गर्नुपरेपछि ठूलो आर्थिक क्षति भएको भन्दै आयोजनाले असन्तुष्ट समूहसँग छलफल गरेको थियो।
यसअघि स्थानीयलाई दिने सम्झौता भएको ६ प्रतिशत सेयरमा ४ प्रतिशत थप गरी कुल १० प्रतिशत सेयर जेनजी कम्पनीलाई दिने सहमति सँगै हाल आयोजना सञ्चालन आइसकेको छ।