नागढुंगा सुरूङमार्ग हुँदै गुड्ने सवारीसाधनबाट २४ लाख ५५ हजार रूपैयाँ शुल्क उठेको छ।
दुई दिनमा उक्त शुल्क उठेको नागढुंगा सुरूङमार्ग निर्माण आयोजनाका उपनिर्देशक संजय पन्थीले जानकारी दिए।
उनका अनुसार पहिलो दिन ११ लाख ५० हजार रूपैयाँ क्यास तथा अनलाइनमार्फत समेत गरी कुल ११ लाख ८४ हजार रूपैयाँ शुल्क उठेको थियो।
दोस्रो दिन १२ लाख ७१ हजार रूपैयाँ उठेको उनले बताए।
नागढुंगा सुरूङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ गतेदेखि शुल्क संकलन सुरू गरिएको हो।
सुरूङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले राजपत्रमा प्रकाशित सवारी वर्गीकरण अनुसारको दस्तुर तिर्नुपर्छ।
निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रूपैयाँ र बाहिरिँदा ६० रूपैयाँ तिर्नुपर्छ।
त्यस्तै, ठूला सवारीसाधनले सुरूङमार्ग प्रवेश गर्दा ६०० रूपैयाँ र बाहिरिँदा २५० रूपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
सुरूवाती चरणमा नगद तथा क्युआर प्रणालीमार्फत दस्तुर भुक्तानी गर्न सकिने व्यवस्था छ।
आगामी दिनमा आरएफआइडी कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा दस्तुर भुक्तानी गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको आयोजनाले जनाएको छ।