नेपाल विद्युत प्राधिकरणले प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी रूपमा अघि बढाउने योजना अघि सारेको जनाएको छ।
संस्थालाई प्रविधिमैत्री, सरल, सक्षम र भविष्य उन्मुख बनाउने दीर्घकालीन रणनीति अनुसार 'एनइए एई साथी' नामको (एप) प्रयोगमा ल्याउने तयारी गरेको हो।
कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका रूपमा मात्र नभई संस्थागत साथीका रूपमा आत्मसाथ गर्ने नवीन अवधारणासहित एनइए एई साथी प्रणाली (एप) प्रयोगमा ल्याउन लागेको प्राधिकरणले जानकारी दिएको छ।
'एआईलाई जटिल र टाढाको प्रविधि होइन आवश्यक परेका बेला सम्झिने र सहयोग लिने साथी बनाउनुपर्छ भन्ने सोचका साथ यो कार्यक्रम अघि बढाएका हौं,' नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, 'यसले प्रविधिलाई जटिल नभई आत्मीय, सहज र प्रयोगमैत्री रूपमा प्रस्तुत गर्ने लक्ष्य हामीले राखेका छौं। संस्थाको सहयोगी साथीका रूपमा एई साथीले सेवाग्राही आवश्यक सेवामा सहयोग गर्ने छ।'
उनले सेवाग्राहीले एई साथी भनी बोलाउने र ग्राहकलाई आवश्यक पर्ने विभिन्न जानकारी तथा सहयोगका लागि प्रयोग गर्ने संस्कार क्रमशः विकास हुँदै जाने विश्वास प्राधिकरणले लिएको पनि जानकारी दिए।
एआईलाई केबल प्रविधि नभई सहकार्य गर्ने साथीका रूपमा स्थापित गर्ने दीर्घकालीन सोचका साथ यो अवधारणामा समेटिएको उनको भनाइ छ।
यो पहललाई संस्थागत नवप्रवर्तन, डिजिटल रूपान्तरण तथा सेवा सुधारतर्फको महत्त्वपूर्ण सुरुआतका रूपमा अघि बढाएको पनि जानकारी दिएको छ।
एई साथी प्रणालीलाई प्राधिकरणले प्रारम्भिक चरणमा ग्राहक सेवा र सूचना प्रवाहमा केन्द्रित गर्ने र विस्तारै प्राविधिक विश्लेषण, लोड व्यवस्थापन, पूर्वानुमान र डेटा–आधारित निर्णय प्रक्रियासम्म विस्तार गर्ने योजना बनाएको छ।