नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले 'बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरूसिंगे १३२ केभी प्रसारणलाइन आयोजना' को लाइन तथा सवस्टेसनको स्थलगत अनुगमन गरेका छन्।
लाइन निर्माण सम्पन्नपछि सञ्चालनमा आएसँगै उनले स्थलगत अनुगमन गरे।
गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास (४६ एमभिए) मुसिकोट नगरपालिका अन्तर्गतको पौँदीअमराइ (४६ एमभिए), बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ (४६ एमभिए) क्षमताका सवस्टेसन तथा लाइनको स्थलगत अनुगमन गरे।
थप प्राविधिक निरीक्षणपछि परीक्षणमा रहेको उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बुर्तिबाङ सवस्टेसनसम्मको १३२ केभी क्षमताको विद्युत सर्किट प्रसारणलाइन चार्जमा ल्याएको प्राधिकरणले जानकारी दिएको छ।
अनुगमनपछि शाक्यले विद्युत आपूर्ति व्यवस्थालाई सुदृढ, भरपर्दो, गुणस्तरीय तथा विश्वसनीय बनाउने उद्देश्यले प्राधिकरणले उक्त आयोजनालाई महत्वपूर्ण रूपमा लिएको जानकारी दिए।
'पहिला ३३ केभीमा लाइन आउँदा दैनिक १०–१५ पटक विद्युत आपुर्तिमा समस्या हुने अवस्था थियो,' उनले निरीक्षणपछि भने, 'अहिले १३२ केभी प्रसारणलाइनमा चार्ज भैसकेपछि विद्युत नियमित भएको र भोल्टेज पनि राम्रो भएको जानकारी पाएको छु।'
अब भरपर्दो विद्युत आपूर्तिका लागि आधार तयार भयो।'
प्राधिकरणले गरेको लगानीले अर्थतन्त्रलाई थप माथि उठाउन र रोजगारी सिर्जना गर्न सहयोग पुग्नेमा आशावादी भएको उनले बताए।