नेपाली कांग्रेसका सभापति गगन थापाले सडक समयमै बनाउन ४१ वटा कानुन संशोधन गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापासँग खुला प्रश्नोत्तर कार्यक्रममा थापाले सडक निर्माण समयमै सम्पन्न गर्न नीतिगत तथा कानुनी सुधार अपरिहार्य रहेको बताएका हुन्।
'सडक समयमा नबनाउनेलाई ठोक्दिन्छु, घोक्र्याइदिन्छु भन्ने हिजो कसैको अभिव्यक्ति सुनेँ मैले,' उनले भने, 'तर कसैलाई घोक्र्याएर सडक समयमै बन्दैन।'
सार्वजनिक खरिद ऐनमा सुधार नगरी समयमै सडक निर्माण सम्भव नहुने उनको भनाइ छ।
'अध्ययनका क्रममा कम्तीमा ४१ वटा कानुन कार्यान्वयन वा संशोधन नगरेसम्म सडक समयमै नबन्ने देखिएको बताइएको छ,' उनले भने।
उनका अनुसार संसदले हिजो काम गर्छ भनेर बनाएका कतिपय कानुन संविधान निर्माणभन्दा पहिलेकै रहेको उल्लेख गर्दै ती सबै कानुनको अध्ययन गरिएको जानकारी दिए।
अध्ययनपछि कुन कानुन खारेज गर्ने, कुन परिमार्जन गर्ने र कुन मर्ज गर्ने भन्नेबारे स्पष्ट खाका तयार गरिएको उनले बताए।
'हामी एकीकृत कानुन बनाउँछौं,’ उनले भने, ‘तर हाम्रो संसदले वर्षमा एउटा मात्रै कानुन बनाउँछ, तर यसलाई फास्ट ट्र्याकबाट अघि बढाउँछौं।'
उनले आवश्यक बजेट विनियोजन गरिने र परिणाम देखिने गरी काम गरिने प्रतिबद्धता व्यक्त गरे।
साथै, कानुन निर्माण प्रक्रिया नै संशोधन गरिने र यस प्रस्तावका लागि विदेशी अभ्यासको समेत अध्ययन गरिएको जानकारी दिए।