भोटेकोशी–त्रिशूली बाढीले काठमाडौं–धादिङ जोड्ने फुर्के खोलाको मोटरेबल पुल बगाएपछि धादिङ, गोरखाका केही स्थानमा आवतजावत प्रभावित भएको छ।
मलेखु नजिकै रहेको यो पुल बगेसँगै उक्त सडकखण्ड हुँदै आवतजावत गर्नेहरूले झोलुंगे पुल तथा अन्य वैकल्पिक बाटो प्रयोग गरिरहेका छन्।
पुल नहुँदा कठिन यात्रा गरिरहेकाहरूले फुर्के खोलामा बेलिब्रिज कहिले राखिन्छ भन्ने चासो राखिरहेका छन्।
अझ दसैं नजिकिँदै गर्दा घर फर्किने यात्रुको चाप बढ्ने भएकाले फुर्केखोलामा बेलिब्रिज राखेर आवागमन सहज बनाइने हो कि होइन भन्ने चासो बढेको छ।
हामीले यसबारे सडक विभागको पुल महाशाखा प्रमुख ललिजन खनालसँग कुरा गरेका छौं।
उनका अनुसार हाल उपलब्ध बेलिब्रिजले फुर्के खोलाको पुलको दूरी धान्न सक्दैन।
'यहाँ १०० मिटर भन्दा लामो पुल आवश्यक पर्छ। अहिले हामीसँग उपलब्ध बेलिब्रिजले फुर्के खोलाको पुलको दूरी धान्न सक्दैन,' उनले सेतोपाटीसँग भने।
उनले फुर्के खोलामा आवागमन सुरू गर्न लगभग १२० मिटर लामो पुल चाहिने उनले जानकारी दिए।
'दसैंअघि यो बाटो जोडिन्छ कि जोडिँदैन भन्ने कुरा १२० मिटर लामो पुल उपलब्ध हुन्छ कि हुँदैन भन्ने कुरामै निर्भर गर्छ,' उनले भने।