निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गमा सवारी साधन सञ्चालन गर्ने तयारी दुई महिना पछाडि धकेलिएको छ।
सिद्धबाबा सुरूङ मार्ग योजना कार्यालय, बुटवलले यसअघि असोजभित्रै सवारी साधन सञ्चालन गर्ने जनाएको थियो। तर आवश्यक विद्युतीय सामग्री आउन ढिलाइ भएपछि ढिलाइ भएको कार्यालयले बताएको छ।
कार्यालयका अनुसार ल्याइएका कतिपय विद्युतीय सामानमा भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीका कारण क्षति भएको छ। कतिपय सामग्री बाटोमै रोकिएका छन्।
त्यस कारण दसैंअघि नै सञ्चालनको योजना भए पनि बाढीका कारण ढिलाइ भएको कार्यालयकी सूचना अधिकारी इन्जिनियर सौम्या आनन्दले बताइन्।
आयोजनाको ठेकेदार कम्पनी चिनियाँ हो। त्यसैले सुरूङमा चाहिने अधिकांश विद्युतीय उपकरण चीनबाट रसुवागढी नाका हुँदै आउँदै थिए।
'कतिपय सामग्री र उपकरणमा बाढीले क्षति पुर्यायो। कतिपय त्यहाँबाट ल्याउन नसकिने भएपछि कोरला नाकाबाट ल्याउने प्रक्रियामा छन्,' आनन्दले भनिन्।
अहिले स्थलमार्ग हुँदै चीनबाट सामान ल्याउने एउटा नाका कोरला हो। त्यहाँ चाप हुँदा तरकारी, फलफूल तथा खाद्य सामग्री बोकेका साधनलाई प्राथमिकता दिइएको र अन्य सामग्री तथा उपकरण ल्याउन ढिलाइ भएको उनले बताइन्।
अबको केही दिनभित्र सामान आइपुग्ने र जडानपछि मंसिरसम्म सुरूङ मार्गबाट सवारी साधन सञ्चालन हुने उनको भनाइ छ।
अहिले सुरूङभित्र भित्ता र सडकको ढलानका साथै लाइनिङ पूरा गरी रङरोगन भइरहेको छ। सुरूङ प्रवेश गर्ने दुवैतर्फ टेक्निकल भवन बनिसकेको छ र हाल 'फिनिसिङ' भइरहेको छ। आपतकालीन निकासका लागि १५१ मिटर, १६१ मिटर र १३० मिटर गरी तीन वटा बाइपास सुरूङ खनिएका छन्।

अब भित्र बत्ती, पंखा तथा भेन्टिलेसन जडान गर्ने इलेक्ट्रो–मेकानिकल काम र सुरूङदेखि दक्षिण र उत्तरतर्फको सडक ढलान गर्ने काम बाँकी छ।
'मुख्य सुरूङसहित बाइपास सुरूङको काम, १४ वटा कल्भर्ट, टनेलभित्रको प्रिमेन्टको काम सकिएको छ। अब भित्र र दुवैतर्फको कन्ट्रोल रूममा इलेक्ट्रोनिक्स जडानको काम बाँकी छ। जडान भइसक्दा मुख्य सुरूङदेखि बाहिरी सडक ढलानको काम पनि पूरा भइसक्छ,' उनले भनिन्।
आयोजना अन्तर्गत सुरूङ मार्गदेखि दक्षिण चिडिया खोलासम्म ९ सय मिटर र उत्तरतर्फ ड्याम साइडदेखि नागनाथसम्म साढे ५ सय मिटर सडक ढलान गर्नुपर्ने छ। हाल सवारी साधन सञ्चालन भइरहेको सुरूङदेखि बाहिरको सडक ढलान र त्यसलाई सुरक्षित बनाउने काम भने भित्र सवारी साधन सञ्चालन भएपछि मात्र सुरू हुनेछ।
बाहिरी भाग पहिरोबाट जोगाउन रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनका काम गरिनेछ।
११२६ मिटर लामो सुरूङ मार्ग निर्माणको काम हालसम्म करिब ७० प्रतिशत सम्पन्न भइसकेको छ। सवारी साधन सञ्चालन हुँदा ८५ प्रतिशत काम पूरा हुने आनन्दले बताइन्।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको अत्यन्त जोखिमयुक्त सिद्धबाबा खण्डमा यो सुरूङ बनिरहेको हो।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७८ फागुनमा यसको ठेक्का सम्झौता गरेको थियो। निर्माण भने २०७९ अन्तिमतिर मात्र सुरू गरेको थियो। सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँमा ठेक्का लिएको कम्पनीले हालसम्म ६३.५५ प्रतिशत भुक्तानी लगिसकेको छ।
२०८१ माघ ११ गते ब्रेक–थ्रू हुँदा ४० प्रतिशत काम सकिएको थियो।
ठेक्का सम्झौता अनुसार कम्पनीले २०८३ चैत मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने छ। तर सुरूवाती चरणमा केही कानुनी र प्राविधिक समस्या देखिएपछि एक वर्षपछि मात्रै सुरूङ खन्न सुरू गरियो। त्यसैले सम्झौता अवधिभित्रै काम पूरा हुन कठिन देखिन्छ।
हाल ३० प्रतिशत काम बाँकी छ भने तोकिएको म्याद सकिन साढे ६ महिना बाँकी छ।
कम्पनीले सुरूङ मार्गसँगै बुटवल र पाल्पा दुवैतर्फका जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन ढलान, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायत प्रविधि सहित साढे ३ किलोमिटर सडक सुरक्षित बनाउनुपर्ने सम्झौता छ।
त्यस्तै, निर्माण सम्पन्न भएपछिको पाँच वर्षसम्म कम्पनीले नै सुरूङ मार्ग सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मा लिनुपर्ने छ।
यो सुरूङमार्फत बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत सिद्धार्थ राजमार्ग हुँदै लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने विश्वास गरिएको छ।
