अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ।
जसकारण करिब पाँच सय मेगावाट हाराहारि क्षमताका आयोजनाहरूको विद्युत उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार ४९७ मेगावाट क्षमताका १० वटा जलविद्युत आयोजनामा क्षति पुग्दा उत्पादन बन्द भएको छ।
यी हुन् बाढीका कारण उत्पादन बन्द भएका जलविद्युत आयोजना
१) १४० मेगावाटको कालीगण्डकी
२) २५ मेगावाटको माथिल्लो मादी
३) ४४ मेगावाटको सुपर मादी
४) २० मेगावाटको नामार्जुन मादी
५) ४० मेगावाटको सेती नदी
६) २५ मेगावाटको अपर दोर्दी
७) ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी
८) ७० मेगावाटको मध्यमर्स्याङ्दी
९) ६९ मेगावाटको मर्स्याङ्दी,
१०) १४ मेगावाटको मोदी लगायतका जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।
नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जल विद्युत आयोजनाको विद्युत उत्पादन प्रभावित भएको हो।
प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ।
त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ।
उक्त करिडोर प्रसारण लाइनमा जोडिएका मात्रै करिब २०० मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ।
क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत आपूर्ति अवरोध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोलीहरू विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए।
विद्युत आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा अन्य उपलब्ध प्रसारणर वितरण संरचनामार्फत विद्युत आपूर्ति सुरू गर्ने व्यवस्था मिलाइएको श्रेष्ठले उल्लेख गरे।
क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर आपूर्ति क्रमशः पुनःस्थापना गर्ने कार्य भइरहेको उनको भनाइ छ।
विद्युत आपूर्ति यथाशीघ्र सुरू गर्न प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको श्रेष्ठको भनाइ छ।
भारी वर्षा, बाढीपहिरो र अवरुद्ध सडकका कारण कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ।
'सडक तथा पहुँचमार्ग खुल्ने बित्तिकै थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत आपूर्ति पुनःस्थापनाको काम तीव्र बनाइने छ,' उनले भने।