योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने समय सकिएको छ। तर, कोषमा दर्ता हुने रोजगारदाता कम्पनी तथा श्रमिकमा उत्साह देखिएको छैन।
सामाजिक सुरक्षा कोषले दर्ता खुल्ला गरेको पहिलो तीन महिनाभित्रै सबै निजी कम्पनीमा काम गर्ने कामदार र रोजगारदाता कम्पनी सहभागी हुनुपर्ने बताएको थियो। तर, रोजगारदाता कम्पनीहरूले भने दोस्रो पटकको समय सकिँदा पनि खासै चासो देखाएनन्।
कोषकाअनुसार हालसम्म १ लाख कामदार पनि दर्ता भएका छैनन्। जम्मा ९८ हजार ५ सय २७ जना श्रमिक आवद्ध भएका कोषले जनाएको छ।
यस्तै, ८ हजार ६ सय ५५ भन्दा बढी रोजगारदाता कम्पनी कोषमा सूचिकृत छन्। केन्द्रीय तथ्यांक विभागले गरेको एक अध्ययनअनुसार नेपालमा ९ लाख व्यापारिक फर्म छन्। त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले भने १२ लाख फर्म नेपालमा सक्रिय व्यापार गरिरहेको जनाएको छ।
यसहिसाबले हालसम्म सामाजिक सुरक्षा कोषमाआवद्ध हुनेहरू एक प्रतिशतभन्दा कम छन्।
पहिले पनि कोषमा दर्ता हुन रोजगारदाता कम्पनीले चासो नदेखाएपछि यसको समय थपिएको थियो। सरकारले गत मंसिर ११ गते 'नयाँ युग' भन्दै यो कार्यक्रम ल्याएको थियो। कार्यक्रम घोषणाअघि मंसिर ६ देखि नै काठमाडौं उपत्यकाका सबै रोजगारदाता, श्रमिक र आपूर्तिकर्तालाई कोषमा कम्पनी दर्ता खुल्ला गरेको थियो।
प्रदेश तीनका अन्य जिल्लामा भने मंसिर १९ देखि दर्ता प्रकृया खुल्ला भएको थियो। यस्तै, प्रदेश १ मा पुसको सुरुआतदेखि र प्रदेश २ मा पुस १५ बाट दर्ता खुल्ला गरेको थियो। यी प्रदेशबाहेक गण्डकी र ५ नम्बर प्रदेशमा माघ १ तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका रोजगारदाताले माघ १५ गतेबाट मात्रै कोषमा कम्पनी दर्ता खुल्ला गरेको थियो।
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली भने श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषबारे बुझाउन नसक्दा अपेक्षित दर्ता हुन नसकेको बताउँछन्।
'श्रमिक र रोजगारदाताको सम्बन्धका कारणले गर्दा पनि दर्ता हुने कम भए,' उनले भने, 'अहिले अन्य कोषमा दर्ता भएकाले त्यहाँबाट सामाजिक सुरक्षा कोषमा सर्न, कोषको फाइदाबारे जानकारी दिन नसक्दा पनि समय लागेको हो।'
उनी सरकारले दिएको समयको अन्तिम दिनमा २ हजार ३ सय श्रमिक एकैपटक दर्ता हुन आउनुले पछिल्लो समय भने यसमा उत्साह देखिएको बताउँछन्। उनका अनुसार अहिलेसम्म दर्ता भएकाहरूबाट साढे ६ करोड ६६ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ।
अहिले सामाजिक सुरक्षामन्त्री तथा श्रमसचिव विदेश भएकाले समय सकिएपछि के गर्ने भन्ने निर्णय नभइसकेको बताए।
'अहिले मन्त्री र सचिव विदेश हुनुहुन्छ। त्यसैले अनलाइन दर्ता प्रक्रिया रोकिएको छैन,' उनले भने, 'आधिकारिक रूपमा के गर्ने भन्ने निर्णय नभएकाले दर्ता हुन चाहने श्रमिकका लागि दर्ता खुल्ला छ।'
अर्को हप्ता मन्त्री तथा सचिव स्वदेश फर्किने कार्यक्रम भएकाले अब कसरी अगाडी बढ्ने भन्ने विषयमा निर्णय हुने उनले जानकारी दिए।