प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप २०२६ काठमाडौं क्षेत्रीय प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
यस प्रतियोगितामा प्रिमियरले एकैपटक सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार ज्याक कौर अवार्ड, ओभरअल च्याम्पियन टिमको उपाधि र ७०० भन्दा बढी पदक तथा १८ ट्रफी जित्दै सबैको ध्यान तानेको छ।
प्रिमियरकी छात्रा श्रुति श्रेष्ठले ज्याक कौर अवार्ड जित्दै इतिहास रचेकी छिन्।
यो उनको लगातार चौथो ज्याक कौर अवार्ड हो।
एउटै विद्यार्थीले लगातार चार पटक यस्तो उच्च सम्मान जित्नु वर्ल्ड स्कलरर्स कपको इतिहासमै विशेष उपलब्धि मानिन्छ।
प्रिमियरले ओभरअल च्याम्पियन टिमको उपाधि पनि आफ्नै विद्यार्थीहरूको टोलीमार्फत जित्न सफल भयो।
रिशित मैनाली, दृश्य रत्न शाक्य र नृप्शा कार्कीको टोली प्रतियोगिताको सबैभन्दा उच्च स्कोर गर्ने टिम बन्यो।
रिशितले ९ गोल्ड, ९ सिल्भर पदक र ४ ट्रफी जिते भने, दृश्यले ८ गोल्ड र ८ सिल्भर पदक प्राप्त गरे।
नृप्शाले १२ गोल्ड, ३ सिल्भर पदक र १ ट्रफी जित्दै टोलीको सफलतामा ठूलो योगदान दिए।
प्रिमियरको प्रभुत्व यतिमै सीमित रहेन।
अर्को एक टोली, ज्याक कौर अवार्ड विजेता श्रुति श्रेष्ठको नेतृत्वमा आरव कृष्ण श्रेष्ठ र रैय्या कोइरालासहित, २२ गोल्ड, १२ सिल्भर पदक र ५ ट्रफी जित्न सफल भयो।
त्यस्तै, तेन्जिङ दावोए लामा, हृद्दिमा अग्रवाल र आरजल अधिकारीको टोलीले १७ गोल्ड, ६ सिल्भर पदक र ३ ट्रफी जित्दै उत्कृष्ट प्रदर्शन गर्यो।
सम्पूर्ण प्रतियोगितामा प्रिमियरका विद्यार्थीहरूले जितेका ३१३ गोल्ड पदक, ३८७ सिल्भर पदक र १८ ट्रफी काठमाडौं क्षेत्रीय प्रतियोगिताको इतिहासमै सबैभन्दा बलियो प्रदर्शनमध्ये एक मानिन्छ।
शीर्ष व्यक्तिगत पुरस्कार र शीर्ष टोली दुवै प्रिमियर ले जित्नुले विद्यालयको शैक्षिक उत्कृष्टता स्पष्ट देखाएको स्कुलले बताएको छ।
सन् २०१९ मा नेपालमा पहिलो पटक वर्ल्ड स्कलर्स कप भित्र्याउने र काठमाडौं क्षेत्रीय प्रतियोगिताको निरन्तर आयोजक विद्यालयका रूपमा प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलले देशका विद्यार्थीहरूलाई विश्वस्तरीय शैक्षिक मञ्च प्रदान गर्दै आएको छ।
अब प्रिमियर टोली ग्लोबल राउन्डको तयारीमा जुटिरहेको छ।
स्कुलका अनुसार यो ऐतिहासिक सफलताले प्रिमियरलाई गहिरो सोच, आत्मविश्वास र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम विद्यार्थी तयार गर्ने शैक्षिक संस्थाका रूपमा अझ मजबुत बनाएको छ।