पोखराको रत्नचोकस्थित एलपी ग्यास सप्लायर्स खुल्नुअघि नै एलपी ग्यास लिन उपभोक्ताहरू सिलिण्डर बोकेर लामो लाइनमा बसेका छन्।
लाइन सडकसम्म फैलिँदा पैदलयात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ।
उपभोक्ताले विगत केही दिनदेखि लगातार ग्यासका लागि सप्लायर्स धाउनुपरेको बताएका छन्। छोरेपाटनकी गीताकुमारी क्षेत्रीले चार दिनदेखि ग्यासका लागि लाइन बस्दा पनि सिलिण्डर नपाएको गुनासो गरिन्।
‘पहिला त नजिकैको किराना पसलबाटै ग्यास पाइन्थ्यो। अहिले डिलरमा धाएको पनि चार दिन भइसक्यो,’ उनले भनिन्, ‘आज पनि ग्यास पाइन्छ कि पाइँदैन भन्ने टुंगो छैन।’
राष्ट्र बैंकचोककी अनिता रेग्मीले भने ग्यास सकिने जानकारी एक साताअघि सप्लायर्सलाई गराएकी थिइन्।
उनले १५ दिनअघि नै नाम दर्ता गरे पनि साउन २१ गते आउन भनिएकाले बिहीबार लाइनमा बसेको बताइन्।
‘ग्यास सकिएको एक साताभन्दा बढी भइसक्यो। आज आउन भनिएकाले आएका हौं, तर अहिलेसम्म ग्यास पाएका छैनौं,’ उनले भनिन्।
बिहानैदेखि लाइनमा बसेका अधिकांश उपभोक्ताले दिउँसो १ बजेसम्म पनि ग्यास पाएका थिएनन्। ग्यास अभावका कारण केहीले इन्डक्सन चुलो प्रयोग गर्न थालेका छन् भने केही दाउरामा खाना पकाउन बाध्य भएका छन्। घरमा रहेको ग्यास सकिन लागेकाले नयाँ सिलिण्डर लिन लाइनमा बसेको बताउने उपभोक्ता समेत छन्।
नेपाल आयल निगमका आधिकारिक बिक्रेता रत्नचोक ग्यास सप्लायर्सकी सञ्चालक सिर्जना कँडेलले निगम तथा ग्यास कम्पनीबाट मागअनुसार आपूर्ति हुन नसक्दा अभाव देखिएको बताइन्।
‘ग्यास आउँदै नआएको होइन, तर मागअनुसार आएको छैन,’ उनले भनिन्, ‘अहिले मागको करिब आधा मात्र आपूर्ति भइरहेको छ, त्यसैले सबै उपभोक्तालाई ग्यास दिन सकिएको छैन।’
उनका अनुसार सप्लायर्सले मासिक ६ हजारदेखि ६ हजार ५०० सिलिण्डरसम्म बिक्री गर्दै आएको थियो। तर साउन २० गतेसम्म जम्मा तीन हजार ७८५ सिलिण्डर मात्रै प्राप्त भएको छ, जुन सामान्य मागको करिब आधा हो।
‘हामीले माग गरेअनुसार ग्यास पाएका छैनौं। ग्यास कम्पनीहरूले नै मागको आधा जति मात्रै उपलब्ध गराएका छन्,’ कँडेलले भनिन्, ‘मागअनुसार आपूर्ति नभएसम्म अभाव हट्दैन।’
नेपाल आयल निगमले विशेष परिस्थितिको कारण फागुन २९ गतेदेखि ७.१ केजीका आधा सिलिण्डर वितरण सुरू गरेको थियो।
आपूर्ति केही सहज भएपछि निगमले असार ३१ गतेदेखि पुनः १४.२ केजीका पूरा सिलिण्डर वितरण थालेको थियो।
कँडेलका अनुसार पूरा सिलिण्डर वितरण पुनः सुरू भएपछि माग बढे पनि त्यसअनुसार आपूर्ति हुन सकेको छैन।
नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी गणेशबहादुर मगरले गण्डकी प्रदेशमा एलपी ग्यासको माग र आपूर्तिको विवरण प्रदेश कार्यालयसँग नभएको बताए।
‘हामीले डिजेल र पेट्रोलको मात्रै बिक्री–वितरण गर्छौं। ग्यासको आपूर्ति र वितरण केन्द्रबाटै ग्यास कम्पनीमार्फत हुने भएकाले प्रदेशमा कति माग छ र कति आपूर्ति भइरहेको छ भन्ने तथ्यांक हामीसँग छैन,’ उनले भने।