साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीको प्राविधिक दक्षता र व्यावहारिक क्षमता प्रदर्शन गर्ने बिसाइड्स काठमाडौं २०२६ अन्तर्गत आयोजित 'क्याप्चर द फ्ल्याग' (सिटिएफ) प्रतियोगितामा सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई–कमर्सका विद्यार्थीले शीर्ष तीनवटै स्थान हासिल गरेका छन्।
नोभेम्बर २१ मा काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित प्रतियोगितामा कलेजका तीन टोली क्रमशः प्रथम, द्वितीय र तृतीय भएका हुन्।
साइबर सुरक्षा क्षेत्रका विभिन्न चुनौतीमा आधारित प्रतियोगितामा सहभागी नौ टोलीमध्ये सफ्टवेरिकाका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै तीनवटै स्थानमा सफलता हासिल गरेका हुन्।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीमा गौरव पौडेल, सोचन डंगोल, रिदम पाण्डे र प्रत्यूष राजभण्डारी रहेका थिए।
त्यस्तै, दोस्रो स्थान हासिल गर्ने टोलीमा प्रणय निधि, सुबेग सुवाल, दिपेश गिरी र योगेन्द्र बडू थिए।
तेस्रो स्थान प्राप्त गर्ने टोलीमा विशेष खड्का, विकी ताजपुरिया, सफल गौतम र महेन्द्र नाथ सहभागी थिए।
प्रतियोगितामा नौ टोलीका २८ जना सहभागी भएका थिए। उनीहरूले लाइभ ह्याकिङ चुनौती, समस्या समाधानका अभ्यास तथा वास्तविक साइबर सुरक्षा परिदृश्यमा आधारित विभिन्न प्राविधिक चुनौतीमा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन टोलीका लागि १२ लाख रुपैयाँभन्दा बढी मूल्यका पुरस्कार व्यवस्था गरिएको थियो।
'यो विश्वव्यापी बिसाइड्स साइबर सुरक्षा समुदायअन्तर्गत नेपालमा पहिलोपटक आयोजना गरिएको संस्करण हो' कलेजले एक विज्ञप्तिमा भनेको छ, 'बिसाइड्स विश्वभरका साइबर सुरक्षा पेसाकर्मी, अनुसन्धानकर्ता, विद्यार्थी तथा यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूलाई ज्ञान आदानप्रदान, प्राविधिक छलफल र सहकार्यका लागि जोड्ने समुदायमा आधारित सम्मेलन सञ्जाल हो।'
विश्वका ७४ देशका ३०५ सहरमा कार्यक्रम आयोजना गर्दै आएको बिसाइड्सको काठमाडौं संस्करणले नेपालको साइबर सुरक्षा क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा ल्याएको छ ।
यसले साइबर सुरक्षा क्षेत्रमा कार्यरत विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी तथा विभिन्न संस्थाबीच ज्ञान र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको बताइएको छ।
प्रतियोगितामा ह्याकएटसेक आधिकारिक सीटीएफ साझेदारका रूपमा रहेको थियो भने सीभीई प्लेग्राउन्डले प्रतियोगिता सञ्चालनका लागि आवश्यक प्राविधिक पूर्वाधार सहयोग उपलब्ध गराएको थियो।