होटलमा बस्नु भनेको नयाँ ठाउँमा पुग्नु, आराम गर्नु र रात बिताउनु हो। तर संसारका केही होटलमा रात बिताउनु आफैमा एउटा अनौठो अनुभव बन्न सक्छ।
कतै पहाडको चट्टानभित्र कोठा बनाइएको छ, कतै समुद्रको सतहमुनि सुतेर माछा हेर्न पाइन्छ। कतै भित्ताबिनाको खुला भिल्लामा जंगलको आवाज सुन्दै रात बिताउन सकिन्छ भने कतै हिउँ र बरफले बनेको कोठामा सुत्न पाइन्छ।
प्रपर्टी न्युज इन्टरनेसनलले हालै प्रस्तुत गरेका साउदी अरब, माल्दिभ्स, इन्डोनेसिया र स्विडेनका यी चार होटलले रात बिताउने सामान्य अनुभवलाई कसरी असामान्य बनाउन सकिन्छ भन्ने देखाउँछन्।
१. पहाडभित्र लुकेको होटल
साउदी अरबको मरूभूमिमा टाढासम्म फैलिएका पहाड र चट्टान देखिन्छन्। त्यही चट्टानी भूगोललाई होटलको डिजाइनको हिस्सा बनाइएको छ।
होटल हो— डेजर्ट रक रिसोर्ट।
यो होटल पहाडको छेउमा भवन ठड्याएर बनाइएको मात्र होइन। यसका कतिपय कोठा पहाडको चट्टान खनेर बनाइएका छन्। गुफाजस्ता यी कोठाले पाहुनालाई चट्टानी पहाडभित्रै बसेको अनुभूति दिन्छन्।
ओपेनहाइम आर्किटेक्चरले डिजाइन गरेको यस रिसोर्टलाई रेड सी ग्लोबलले विकास गरेको हो। यहाँ ५४ वटा भिल्ला र १० वटा स्विट रूम छन्। केही भिल्लामा निजी स्विमिङ पुलसमेत छन्, जहाँबाट मरूभूमि र पहाडको दृश्य देखिन्छ।
सामान्यतया भवन बनाउँदा जमिनको बनावट अनुसार संरचना तयार गरिन्छ। डेजर्ट रकमा भने पहाडको प्राकृतिक बनावटलाई नै डिजाइनको आधार बनाइएको छ। यसले वास्तुकलालाई प्रकृतिबाट अलग नराखी त्यसैको हिस्सा बनाउने प्रयास गरेको छ।


२. समुद्रमुनि सुत्न पाइने होटल
समुद्रमा पौडी खेल्नु, डुंगा चढ्नु वा किनारमा बसेर छाल हेर्नु माल्दिभ्स पुग्ने पर्यटकका लागि सामान्य अनुभव हुन्। तर त्यहाँ एउटा यस्तो आवास छ, जहाँ रात बिताउँदा समुद्रलाई बाहिरबाट होइन, बेड रूमभित्रैबाट हेर्न सकिन्छ।
माल्दिभ्सको कोनराड माल्दिभ्स रंगाली आइल्यान्ड रिसोर्टमा रहेको यसको नाम हो— द मुराका।
यसको विशेषता हो, समुद्रको सतहमुनि बनाइएको बेडरूम। यो समुद्रको सतहबाट करिब पाँच मिटर तल छ।
बेडरूमको छतमा पारदर्शी, घुमाउरो संरचना छ। त्यसबाट समुद्रभित्रका माछा र अन्य जलचर देख्न सकिन्छ।
यस्तो लाग्छ— तपाईं सुतिरहेको कोठाको छानो आकाश होइन, समुद्र हो।
द मुराका दुई तलामा फैलिएको विलासी होटल हो। यसमा तीनवटा बेडरूम छन्, जसमध्ये एउटा पानीमुनि र दुइटा समुद्रको सतहमाथि छन्। माथिल्लो तलामा बस्ने र खाने ठाउँ तथा निजी स्विमिङ पुल छ।
समुद्रमुनि कोठा बनाउनु सामान्य भवन निर्माणजस्तो सजिलो हुँदैन। पानीको चाप सहन सक्ने संरचना तयार गर्नुपर्छ। समुद्री दृश्य देखाउने पारदर्शी भागको मजबुती र सुरक्षामा पनि विशेष ध्यान दिनुपर्छ।
वास्तुकला र इन्जिनियरिङको यही संयोजनले द मुराकालाई अरू होटलभन्दा फरक बनाएको छ।


३. भित्ता, ढोका नभएको होटल
होटलमा बस्दा गोपनीयता र सुरक्षाका लागि ढोका बन्द गरिन्छ। बाहिरको आवाज रोक्न झ्याल लगाइन्छ। गर्मी, वर्षा वा चिसोबाट बच्न कोठा बन्द संरचनाभित्र राखिन्छ।
तर इन्डोनेसियाको बालीमा रहेको बुहान होटलले यो मान्यता उल्ट्याएको छ।
बन्यान ट्री एस्केपअन्तर्गत सञ्चालित यस होटलको अवधारणा नै हो— नो वाल्स, नो डोर्स।
अर्थात्, भित्ता छैन, ढोका छैन।
यहाँका १६ वटा भिल्ला खुला संरचनामा बनाइएका छन्। कोठा र वरिपरिको जंगलबीच सामान्य होटलमा जस्तो चारैतिर भित्ता र ढोकाको छेकबार छैन। पाहुनाले हरियाली, चराको आवाज र प्राकृतिक हावासँगै बसाइको अनुभव लिन सक्छन्।
यो स्थानीय बालीवासीको परम्परागत वास्तुकलाबाट प्रेरित छ। सन् २०२२ मा खुलेको यो वयस्क पाहुनाका लागि मात्र उपलब्ध रिसोर्ट हो। यसको डिजाइनले प्रकृतिबाट आफूलाई अलग राख्नुको सट्टा त्यससँग नजिक भएर बस्ने अवधारणालाई प्राथमिकता दिएको छ।
खुला संरचनामा बस्दा प्रकृतिको नजिक पुगेको अनुभूति हुन्छ। तर यस्तो डिजाइनमा मौसम, किराफट्यांग्रा र गोपनीयताको व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।


४. हिउँको कोठामा बस्न पाइने होटल
हिउँ परेका बेला हिउँ खेल्नु, हिउँमान्छे बनाउनु वा हिउँले ढाकिएका घर हेर्नु नौलो लाग्न सक्छ। तर हिउँ र बरफबाट बनेको कोठामा रात बिताउने अनुभव कस्तो होला?
स्विडेनको जुक्कास्यार्वीमा रहेको 'आइसहोटल ३६५' ले यही अनुभव दिन्छ।
सन् २०१६ मा खुलेको यो होटल वर्षभरि सञ्चालन हुने हिउँ र बरफको होटल हो। यहाँका कोठा हिउँ र बरफबाट बनाइएका छन्। कोठाभित्रको तापक्रम करिब माइनस पाँच डिग्री सेल्सियसमा राखिन्छ।
सामान्यतया हिउँ र बरफबाट बनाइएका संरचना मौसम तातिएपछि पग्लिन्छन्। त्यसैले यस्ता होटल प्रायः जाडो मौसममा मात्र सञ्चालन गर्न सकिन्छ। तर आइसहोटल ३६५ मा गर्मीयाममा पनि हिउँका कोठा कायम राख्न सौर्य ऊर्जाबाट चल्ने प्रणाली प्रयोग गरिन्छ।
यहाँको विशेषता चिसो मात्रै होइन, बरफबाट बनाइएका कलात्मक आकृति पनि हुन्। कोठाका भित्ता र सजावटमा बरफ तथा हिउँ प्रयोग गरिन्छ। विभिन्न कलाकारले तयार पारेका डिजाइनका कारण प्रत्येक कोठा आफैमा कलाकृति जस्तो देखिन्छ।
पाहुनाले बरफको कलाकृति हेर्दै रात बिताउन सक्छन्। यो होटलले चिसो मौसमको चुनौतीलाई नै आकर्षणमा बदलिदिएको छ।


पहाडभित्रको कोठा होस्, समुद्रमुनिको, भित्ताबिनाको खुला भिल्ला वा हिउँले बनेको कोठा— यी चार होटलले बस्ने ठाउँलाई नै यात्राको आकर्षण बनाएका छन्।