सोलुखुम्बुस्थित लुक्लाभन्दा माथि पर्ने फेरूचेमा ल्यान्डिङको क्रममा दुई हेलिकप्टरका पंखा जुधेर पल्टिएको छ।
मंगलबार बिहान करिब सवा ८ बजेतिर उक्त दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।
उनका अनुसार ल्यान्डिङ गर्नेक्रममा फिस्टेल र एयर डाइनेष्टिको हेलिकप्टर पल्टिएको हो। ‘लुक्लाभन्दा माथि फेरिचे भन्ने ठाउँमा ल्यान्डिङको क्रममा दुई वटा हेलिकप्टरको विंग्स छोएर पल्टिएको हो,’ उनले भने।
घटनाबारे थप बुझ्न लुक्लाबाट प्राधिकरणको टोली दुर्घटनास्थलतर्फ पुग्दैछन्।
खुम्बु पासाङल्हामु गाउँपालिका-४ पर्ने उक्त ठाउँमा हेलिकप्टर दुर्घटना भएपछि नजिकैको प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरले जानकारी दिए।
उनले दुर्घटनामा एक जना विदेशी नागरिकको मृत्युको खबर प्राप्त भएको पनि बताए।
दुर्घटनामा अर्का एक घाइतेको उद्धारका लागि प्रभु एयरको हेलिकप्टरबाट उद्धारको काम भइरहेको छ।
‘एक जना विदेशी नागरिकको मृत्यु भएको खबर पनि प्राप्त भएको छ। अर्का घाइतेको प्रभुको हेलिकप्टरबाट उद्धार भइरहेको भन्ने खबर छ। पहिचान खुलिसकेको छैन,’ उनले भने।
थप विवरण आउन बाँकी छ।