ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य पोखरा पर्यटन परिषद् (पीटीसी) को कोषाध्यक्षमा चयन भएका छन्।
परिषद्को नयाँ कार्यसमितिलाई पूर्णता दिने क्रममा आचार्यलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।
परिषद्को हालै सम्पन्न २६ औँ वार्षिक साधारण सभा तथा १४ औँ अधिवेशनबाट हरि भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो। अधिवेशनपछि बाँकी पदाधिकारी तथा सदस्यको जिम्मेवारी बाँडफाँट गर्ने क्रममा आचार्य कोषाध्यक्षमा चयन भएका हुन्।
पर्यटन क्षेत्रमा सन् १९९८ देखि सक्रिय आचार्यले अध्ययनसँगै पार्टटाइम कामका रूपमा ट्रेकिङ क्षेत्रमा आफ्नो यात्रा सुरू गरेका थिए।
ट्रेकिङमा सहायक गाइडका रूपमा काम सुरू गरेका उनले अनुभव र निरन्तरको सक्रियतासँगै पर्यटन व्यवसायमा आफ्नो पहिचान स्थापित गरेका हुन्।
सन् २००८ मा उनले इथिकल ट्रेकिङ नेपाल स्थापना गरी पर्यटन व्यवसायलाई संस्थागत रूपमा अघि बढाएका थिए।
पर्यटन व्यवसायीको साझा संस्था टान गण्डकीमा सन् २००९ मा सदस्यका रूपमा आबद्ध भएका आचार्यले विभिन्न जिम्मेवारी निर्वाह गर्दै सन् २०२४ देखि २०२६ सम्म अध्यक्षको नेतृत्व सम्हालेका थिए।
हाल उनी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) गण्डकी प्रदेशको पर्यटन संयोजकसमेत छन्।
पर्यटन प्रवर्द्धनका विभिन्न गतिविधिमा सक्रिय आचार्यले अल्ट्रा म्याराथनको प्रवर्द्धनमार्फत साहसिक पर्यटनको विकास र विस्तारमा समेत योगदान पुर्याउँदै आएका छन्।
पर्यटन क्षेत्रमा करिब तीन दशकको अनुभव, व्यावसायिक संलग्नता र संस्थागत नेतृत्वको अनुभव भएका आचार्यको परिषद्मा आगमनले पोखराको पर्यटन प्रवर्द्धन तथा आर्थिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।