श्रावणको महिना, हावाहुरीसँगै पानी दर्किरहेको थियो। पहिरो गएर तीन घन्टाजति बाटोमा रोकिनु परेकाले बिहानको ११ बज्दा बल्ल गाडीले ल्याइपुर्यायो।
मैले अगाडि नै दिदीलाई कल गरेर सिनामंगल चोकमा लिन आउन भनेकोले उ कुरेर बसिरहेकी थिई। गाडीबाट ओर्लेर छाताले भ्याएसम्म भिजिनबाट जोगिदै दिदीसँग उसको घरसम्म पुग्यौँ।
महत्त्वपूर्ण कामको सिलसिलामा काठमाडौं आएको भएता पनि आफ्नो कामभन्दा बढी ध्यान कतिबेला प्रशन्नलाई भेटुँ भन्नेमा थियो। खाना खाईसकेपछि उसलाई कल गरेँ, तर उसको मोबाइल स्विच अफ थियो। उसले नम्बर चेन्ज गरेको रहेछ। फेसबुकमा उसलाई अनलाइन देखेपछि उसको नयाँ नम्बर मागेर फोन गरेँ।
हेल्लो प्रशन्न!
'हेल्लो...'
'के छ यार खबर? नम्बर पनि चेन्ज गरिछस्।'
'अरे उज्वल! मेरो सब ठिकठाक छ यार। अँ यार, त्यस्तै परेर चेन्ज गरेँ।'
तेरो खबर सुनान?'
'के खबर सोध्छस्? मलाई बिर्सिहालिस्। तैले नसम्झे पनि आरामै छु अहिलेसम्म त। अनि... के त्यस्तो पर्यो नम्बर नै चेन्ज गर्नु पर्ने गरी?'
'त्यस्तै छ यार। इटहरी तिरै आएको बेला भन्छु नि सबै कुरा।'
'तँ इटहरीसम्म आइराख्नु पर्दैन। म तेरै ठाउँमा आएको छु।'
'अरे होर? तँ काठमाडौं आको छस ? त्यसोभा आइजन आज मेरो रूममा बस्नेगरी, राति दरो पार्टी हान्नु पर्छ।'
'म आजै आइपुगेको, एकदमै गलेको छु यार। रेस्ट गर्छु, तैपनि दिदीले आजै कतै जान पनि दिन्न, सो, भोलि भेटौँन। म बस्नेगरी नै आउँला तेरोमा। तँसँग अरु धेरै कुरा नि गर्नु छ।'
उसँग भोलि भेट्ने स्थान र समय फिक्स गरेर फोन राखिदिएँ।
न्यूरोडमा काम विशेषले एक जना दाइलाई भेटेपछि त्यहाँबाट गाडी चढी बानेश्वर चोकमा ओर्लेर प्रशन्नलाई फोन गरेँ। २० मिनेटजति कुरेपछि उ आइपुग्यो।
हाम्रो ३ बजेनै भेट्ने कुरा थियो, तर ३:४० बजेपछि बल्ल उ आइपुगेको थियो।
'आएम भेरि सरी यार। तलाई धेरै बेर कुराएँ।'
'कुराउन त कुराइस तर केही छैन, मैले सुरुको २० मिनेट ढिला गरेँ, तैले पछिको २० मिनेट। हिसाब बराबर।'
'भनेपछि तँ पनि २० मिनेट ढिलै आइपुगेको थिइस्। लु राम्रै भएछ उसो भा। हिड् जाउँ अब रूमतिर। धेरै पछि भेट भको छ, मोज गर्नुपर्छ। आज दरो पार्टी जाने भो, तेरो र मेरो।'
मलाई भोकले असह्य भएकोले केही खाएर जाने कुरा गरेँ। बानेश्वर चोकको ओरेन्ज क्याफेभित्र छिरी चिसो र म:म खाएर निस्कियौँ।
हाम्रो रात्रिकालिन पार्टीका लागि पसलबाट एक फुल भोड्का, चिसो, रेडबुल, मासु, चुरोट र अन्य सलाद,खाजा तथा सितनका आईटमहरु किन्यौँ। पैसा उसले तिर्यो, मलाई तिर्न दिएन।
'तँ त मेरो पाहुना होस्, आजको पार्टी मेरो तर्फबाट।'
'ओके यार। तर इटहरी फर्किनुभन्दा अघिको पार्टी चै मैले दिन पाउनुपर्छ नि।'
'हुन्छ। तर योभन्दा स्पेशल हुनुपर्छ नि,' उसले हास्दैँ भन्यो।
शान्तिनगर गेटको बाटो पाँच मिनेटजति हिडेँपछि उ बस्ने घरमा पुग्यौँ। वैशाख १२ को भूइँचालोमा भत्किएको शान्तिनगर गेट, अस्तित्वमा थिएन।
रूम पुगेर दुवै मिलेर मासु लगायत सितन र अन्य खानाका आईटम तयार गरेपछी नेट भोड्काको चियर्ससँगै लामो समयपछिको जमघट मिठासपूर्ण बनाउदैँ गयौं।
विभिन्न प्रसंगमा रमाइला कुराकानी चल्दै थिए।
यत्तिकैमा उसले सोध्यो।
'अनि... मसँग अरु धेरै कुरा नि गर्नु छ भन्दै थिस् नि फोनमा। के कुरा हो त्यस्तो?'
उसँग अन्य कुरा चल्दै जादा मलाई एलिनाको प्रसंग निकाल्नु थियो। नभन्दै उसको यो प्रश्नले अबको टपिक एलिनातर्फ मोडिने वाला थियो।
उनीहरु बीचको अहिलेको अवस्था प्रति अनविज्ञ जस्तै भएर मैले उसलाई एलिनाको खबर सोधेँ।
एलिनाको नाम आउनासाथ उसको मुहारमा उदासपना र दु:खको भाव स्पष्ट झल्किन्थ्यो। उसको मुहारले एउटा कुरा बोले नि उत्तर सामान्य तवरमा दिदै भन्यो, 'ठिकै छ यार।'
मैले रिसाउदै भनेँ, 'मलाई पनि ढाट्छस् सबै कुरा।'
एलिनासँग भएको भेटघाट र त्यस दिन भएको सम्पूर्ण कुराकानी उसलाई सुनाएँ।
सबै कुरा सुनेपछि उ छाँगाबाट खसेजस्तै भयो।
'हो यार, एलिनासगँ कन्ट्याक्ट्मा छुइनँ अचेल। यसमा प्रमुख दोषी म नै हुँ। प्रेमको मामिलामा दिमागले काम गर्दो रहेनछ, सबैभन्दा ठूलो कुरा त मन रहेछ। यो मनले जे गर् भन्यो त्यही अनुरुप चल्नु पर्दो रहेछ।
अचम्मको संसार छ, यी नयनका चाहनाभन्दा मनका चाहनाले जितिदिन्छन हर चिजलाई।
जसलाई पनि मेरो नि एउटी राम्री गर्लफ्रेन्ड होस्, जोसँग आफ्ना मनका भावनाहरु शेयर गरुँ भन्ने रहर हुँदोरहेछ। एलिना राम्री थिई। उनीसित नजिक हुने रहर, उनलाई प्रेमिका बनाउने रहर, जे गर्नु यी रहरै रहरले गर्यो यार।
आज ती सब रहर मरेर गए। एलिनासँग बिताएका हरेक पलहरु मेरो गल्ती र पश्चातापका अतीत भएका छन्। उसँगका ती पलहरुलाई भुल्दै छु यार। उसित गरेका वाचा कसमले पोल्दै छ आज। मलाई थाहा छ, म आफ्ना वाचाहरु पूरा गर्न नसक्ने धोखेबाज बनेर निस्किएको छु।'
रगतमा मदिराको नशा चढ्दो थियो। अझ झन् उसका कुराहरु सुनिरहदा मलाई असह्य रीस उठ्यो।
'साले गधा! मेरो छेउमा धेरै साहित्य नछाट्। खास कुरा के हो, सिधा-सिधा भन्।'
'आखाँका चाहनाहरु मरेका छन् अचेल, तर मनका चाहनाहरु फुल्दै छन्। हो यार, त्योबेला रहरले मन दिएँ एलिनालाई। अहिले मनले मन दिदैँछ सुम्निमालाई।'
नभन्दै जे नहुनु पर्ने त्यही भएछ। उसले सुम्निमाको नाम लिएपछि मलाई भित्रैबाट एकैसाथ पीडा र आक्रोश उत्पन्न भयो। आफूलाई संयमित बनाउदै भनेँ,
'भनेपछि नयाँ गर्लफ्रेन्ड पट्याइछस् अनि पुरानालाई के वाल दिन्थिस र। गजबको प्रेमी रैछस् यार तँ त। तर याद राख् , एलिनाको आँशुको श्राप लाग्नेछ तलाई। उ जस्तो माया गर्ने केटी तैले जिन्दगीमा भेट्ने छैनस्।'
'कुन्ताको घाउ बल्झिरहेको छ, तीमाथि अमिलो नथप् न यार। तँ त मेरो मिल्ने साथी, मेरो मनलाई पनि बुझिदेन। एलिनासगँको मनको नाता अब दया र सहानुभूतिमा मात्र सिमित छ यार, मायामा होइन। मनको माया त सबै सुम्निमा प्रति पोखिएको छ।'
आफ्नो कुरालाई निरन्तरता दिदैँ भन्यो, 'मैले पढाई ट्रान्सफर गरेर काठमाडौं आएपछि एलिनाले मलाई बारम्बार फोन गरिरहन्थी। म उसको कललाई बेवास्ता गरिदिन्थेँ। पछि-पछि उसको कल पनि रिसिभ गर्न मन लागेन। सो यार, नयाँ नम्बर युज गर्न थालेँ।
फेसबुकमा उसका धेरै म्यासेज आउँछन। तर उनको म्यासेजप्रति पहिलेको जस्तो चासो राख्दिनँ अचेल। म अब एलिनाबाट यसैगरी टाढा हुन चाहन्छु। यसैगरी इग्नोर गर्न चाहन्छु उसलाई, ताकी उ स्वयमले मलाई हेट गर्न थालोस्। हुन त म घृणित बन्नकै लायक छु, उनको नजरमा।'
'तेरो यो तरिका ठिक भएन। आफूलाई राम्रोसँग विश्लेषण गर एकचोटी, तैंले अन्याय गरेको छस् एलिनालाई। कम्तिमा उसगँ त क्लियर कुरा गर्नुपर्छ। किन बारबार तड्पाईरहेछस् विचरीलाई।'
'कोशिस नगरेको होइन यार, तर सकिनँ। उनलाई पठाउनलाई लामो म्यासेज तयार गर्थेँ धेरै पटक, तर सेन्ड गर्न कहिल्यै सफल भएनन् यी औँलाहरु। बहाना अनेक बनाउन खोज्थेँ, तर अहँ ती बहानाहरु प्रस्तुत गर्ने आटँ नै आएन।
सत्य कुरा गरुँ भने मेरो रिजनमा कुनै दम नै थिएन। जे थियो मेरो मनको पागलपन थियो, उ सच्चा सद्धे प्रेमिकाले मेरो पागल मनका यी सब सत्यताहरुलाई कहाँ सजिलै स्विकार्थी र? उनलाई म कसरी भन्न सक्थेँ- म सुम्निमासगँ वान साइडेड लभमा छु, पहिलो पटक कसैलाई मनैदेखि चाहेको छु, त्यसैले तिमिसगँको दोहोरो प्रेमलाई आजैदेखि परित्याग गर्दै छु।
कसरी यार ?'
'वान साइडेड लभ! सुम्निमासित वान साइडेड लभमा पो हो तँ? साच्चै पागल नै भएको रैछस्, शुद्ध अकबरी सुन छाडी पित्तलको खोजीमा रहेछस्, त्यो पनि पाइन्छ/पाइन्न था छैन।'
'पित्तल नभन यार सुम्निमालाई, यदि एलिना शुद्ध अकबरी सुन हो भने मेरा लागि सुम्निमा विशुद्ध हिरा हो, चाहे अरुले उनलाई सामान्य टल्किने काचँ नै किन नठानुन्।
अब कुरा रह्यो पाउने/नपाउनेमा, प्रेम कुनै प्राप्ति होइन जहाँ धेरै माया लिई आफू धनी बन्ने आश गरिएको होस्। यो त मनको निस्वार्थ भावना हो जुन कसैप्रति समर्पित भैइरहेको हुन्छ। केवल समर्पण र त्याग मात्र जानेको हुन्छ यो मनले, यहि नै बिशुद्ध प्रेम हो। र यो प्रेम म केवल सुम्निमालाई दिन सक्छु, अरु कसैलाई होइन।'
प्रशन्नका कुरा सुनिरहँदा कता-कता उ पनि आफ्नो हिसाबले सही नै छ जस्तो लाग्न थाल्यो। मैले सुम्निमा र उसँगको पहिलो भेटको बारेमा जान्ने इच्छा व्यक्त गरेँ।
'पहिलो नजरमै मेरो ध्यान तानेकी थिई उसले। हुन त उ एलिना जति राम्री नहोली, तर उनमा खै के त्यस्तो जादु थियो कुन्नी न्युक्लियर फिजिक्सको पहिलो क्लासमा उ मात्रै छाइरही मेरा नयनभरी। त्रिचन्द्रको मेरो पहिलो क्लास उनको हाउभाउ, बसाई, अश्रवणिय ओठका कम्पन र मधुर मुस्कान नियाल्दैमा बित्यो।
उनको पर्सनालिटी र हरेक शैलिले आकर्षित गर्यो मलाई। उनको बारेमा बाहिरी रूपमा धेरै तवरले बुझ्दा आई फाउन्ड हर अ परफेक्ट गर्ल। म दिनानुदिन उनको प्रेममा एकोहोरो डुब्दै गएँ यार र आज यो परिस्थितिमा पुगेको छु। म व्यक्त गर्न सक्दिन उनलाई आफ्ना मनका भावनाहरु।
जसलाई मनै देखि चाहिएको हुन्छ, उसगँ डर लाग्दो रहेछ। उनीसगँको समिप मेरा लागि असामान्य हुन्छ यार, खुलेर बोल्नै सक्दिँन, केही भन्न खोज्छु भन्नै सक्दिनँ। यस्तो कहिल्यै भएको थिएन कसैसगँ पनि। आज महशुस गर्दै छु हृदयभित्रको विशुद्ध प्रेमका कम्पनहरु।'
उसले दुई पेग हालेर दुई पटक ग्लास रित्ताईसक्दा बल्ल मैले एक पेग सकेको हुन्थेँ। एउटा सिग्रेट मलाई थमाएर अर्को बाल्दै एक पफ तानिसकेपछि नाक र मुखबाट एकैसाथ धुवाँ फ्याँक्दै भन्यो,
'हो यार, मेरो प्रेम अचम्मको छ। हामी फेसबुकमा त फ्रेन्ड छौँ तर सामान्य कुरामा बाहेक खासै बोलचाल हुँदैन। म जबजब फेसबुक खोल्छु हरेक पल्ट सुम्निमाको प्रोफाइलमा छिरेकै हुन्छु। उसका हरेक न्यू अपडेटहरु नियालिरहेको हुन्छु।
यदि कसैको प्रोफाइलमा छिरेको नोटिफिकेसन थाहा पाउने सिस्टम हुँदो हो त, सुम्निमाको आइडीमा सबैभन्दा धेरै नोटिफिकेसन्स मेरो नै हुन्थ्यो होला। उनका लगभग सबै अपलोडेड तस्बिरहरु डाउनलोड गरेर राखेको छु, तिनै तस्बिर हेर्छु र महशुस गर्छु पलपल, मनका स्वपनिल प्रेमहरुको।'
उ साच्चै सुम्निमासँग अन्धो प्रेममा रहेछ। उसका नयनहरु नियाल्दै गर्दा सुम्निमाकै प्रतिबिम्बहरु नाचिरहेको भान हुन्थ्यो मलाई पनि। मेरा लागि सबै अदृश्य प्रतिबिम्बहरु ... तैपनि एउटा सुन्दर स्केच देखिरहेको थिएँ उसका नयनभरी। सुम्निमासँग उसको एकतर्फी प्रेमलाई समर्थन गरिरहेको थियो मेरो मनले पनि।
प्रशन्नको मनले सुम्निमाको प्रेम खोजिरहेको थियो। उ छट्पटी रहेको थियो, पानी बिनाको माछोझैँ।मैले उसको मनका निश्चल भावनाहरुको कदर गर्नै पर्ने थियो, नत्र कसैको मनको निस्वार्थ प्रेमको खिल्ली उडाएको ठहरिन्थ्यो। उसलाई एकोहोरो प्रेमबाट दोहोरो तर्फ डोर्याउन मैले आफ्नो तर्फबाट सक्दो कदम चाल्न आवश्यक ठानेँ।
तँ सुम्निमाको प्रेममा एकोहोरो डुबेको छस्, एकोहोरो प्रेम बहुत घातक चिज हो यार। प्रेममा पागल हुनेहरूलाई के थाहा एकोहोरो प्रेमको पीडा किनकी उनका हर चिज हर विहेवियर र तँ प्रतिको हरेक दृष्टिकोण, चाहे नेगेटिभ नै किन नहोस्, जायज लाग्छ तँलाई।
'तेरो एकोहोरो प्रेमलाई देखेर मलाई हर्ट फील हुन्छ यार। हो यार, आई फिल रियल्लि हर्टेड सिइङ योर वान साईडेड लभ। तैले सुम्निमालाई क्लोज बनाएर यी सब कुरा भन्नै पर्छ। के थाहा तैले बुझे सुने बिपरित उसको अर्को कोही बोयफ्रेन्ड पनि हुनसक्छ नि।
सो आई वाना हेल्प यू यार। आई विल ट्राइ माइ बेस्ट फ्रम माइ साईड फर यू टु मेक यू फील योर रियल ट्रु लभ , फर स्ट्रेचिङ योर ट्रु फीलिङ्स टुवार्ज पर्फेक्सन।'
प्रशन्नसँग सुम्निमाको फेसबुक आईडी मागेँ... सुम्निमा थापा। उनको प्रोफाईलमा छिरेर एड फ्रेन्ड गरेँ।
ह्याङ ओभर मेटाउन बिहानै उसले कागती पानी तयार गर्यो। आठ बजेभित्र कुपोन्डोल पुगिसक्नुपर्ने भएकोले कागती पानी खाई केही फ्रेस भएर इटहरी फर्किनुअघि फेरि एकपटक भेट्ने वाचा गर्दै प्रशन्नसँग छुट्टिएँ।
छुट्टिने बेलामा मेरो मनले भन्दै थियो- कसैले प्रेम गरोस् त तैँले जस्तो, जहाँ प्रेम केवल समर्पण र त्याग मात्र होस, लोभ लालचा कहीँ कतै नहोस्, निस्वार्थ प्रेम मात्र होस्। सक्दो प्रयास गर्नेछु यार तेरो प्रेमलाई पूर्णता दिलाउन, सुनमा सुगन्ध बढाउन।
एलिनासँग मुखले गरेको वाचा पूरा गर्न सफल बनेपनि मनले गरेको वाचामा चुकेको थिएँ। मेरो मनमा कताकता डर थियो, कतै प्रशन्नसँग गरेको वाचामा पनि फेल खाने त होइनँ?
सुम्निमालाई फ्रेन्ड रिक्वेस्ट पठाइसकेपछि प्रशन्नलाई नै भनेर मैले उसलाई अनफ्रेन्ड गरिदिएँ ताकी प्रशन्नलाई म्युचुअल फ्रेन्डमा नदेखाओस्।
सुम्निमालाई एड गरेको तीन दिन बितिसक्दा पनि मेरो फ्रेन्ड रिक्वेस्ट एसेप्ट भएको थिएन। प्रशन्नलाई सोध्दा यी तिनै दिन उ अन नै थिई भन्दै थियो। प्रशन्नसँग बुझेर सुम्निमा अन आको मौका पारी म्यासेज सेन्ड गरेँ।
'हेल्लो सुम्निमा...'
म्यासेज सिन् त भयो तर उताबाट रिप्लाई नै आएन।
फेरि अर्को म्यासेज गरेँ।
'क्यान यू एसेप्ट माइ फ्रेन्ड रिक्वेस्ट?'
फेरि त्यस्तै, सिन् भो तर रिप्लाई आएन।
'यू डन्ट नो मि, तर म तिमीलाई राम्ररी चिन्छु। तिमीसँग महत्वपूर्ण कुरा गर्नु छ, प्लिज एसेप्ट माई फ्रेन्ड रिक्वेस्ट अर रिप्लाई थ्रु म्यासेज अन्लि।'
अझै रिप्लाई आएन।
अति भएपछि फेरि अर्को एउटा म्यासेज पठाए।
'सुम्निमा, यदि तिमी मलाई गलत ठानिरहेकी छ्यौ भने प्लिज पोजेटिभ एंगलबाट सोच्ने कोशिस गरिदेउ। हो, तिमी मलाई चिन्दिनौ तर मेरो इन्टेनशन यो पनि नठान कि म कोही केटीलाई लाइन मारिरहेको छु।
तिमीसँग धेरै इर्मपोटेन्ट काम भएर मात्र हो। अन्य सामान्य केटाहरु जस्तो नसोच मलाई, जो फेसबुकमा नचिनेका केटीसाथीलाई फ्रड गरिरहेका हुन्छन। जो पायो त्यही केटीलाई फेसबुकमा एड गर्ने बानी छैन मेरो, जो महत्त्वपूर्ण र खास लाग्छ अथवा चिनेको हुन्छु वा केही काम हुन्छ, उसलाई मात्र एड गर्छु।'
एकछिन कुरेँ, रिप्लाई आएकै थिएन। रीस उठ्यो र फेसबुक लगआउट गरिदिएँ।
भोलिपल्ट फेसबुक लगईन गर्दा म्यासेज बक्समा एउटा म्यासेज देखियो।
'हु आर यू?'
सुम्निमाले मेरो फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिसकेकी रहिछ।
यो पनि :
जुकरवर्ग लभ